रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरूका बारेमा पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जनस्वास्थ्य कार्यालय रामेछापको आयोजनामा आइतबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र शाहले जनस्वास्थ्य कार्यालय रामेछाप मार्फत सञ्चालन भइरहेको कार्यक्रमहरूको बारेमा जानकारी गराउनुभएको थियो ।
जनस्वास्थ्य कार्यालय मार्फत चालु आर्थिक वर्ष २०८१÷०८२ मा सञ्चालन हुने कार्यक्रमहरू र हालसम्म कार्यान्वयनको अवस्थाका बारेमा जानकारी गराउनुभयो ।
कार्यक्रममा सहभागीहरूले मातृ तथा नवजात शिशु मृत्यु कम गर्नका लागि सञ्चालित आमा सुरक्षा कार्यक्रम प्रभावकारी हुन नसक्दा रामेछापमा अहिले पनि गर्भवती तथा सुत्केरी आमाको ज्यान जाने जस्ता घटनाहरू भइरहेको बताए । समाजमा बढ्दो मात्रामा रहेको आत्महत्याका घटना रोकथाम तथा नसर्ने रोगको समस्या कम गर्नका लागि जनस्वास्थ्य कार्यालयको भूमिका खासै नदेखिएको सहभागीले गुनासो गरे । अस्पताल वा स्वास्थ्य संस्थामा बिरामी ल्याएपछि मात्रै उपचार गर्ने मानसिकताबाट मुक्त भई कम्तीमा दुर्घटना हुँदा घटना स्थलमै स्वास्थ्यकर्मी पुगेर घाइतेहरूको उपचार गर्ने व्यवस्था लागि भूमिका खेल्न जनस्वास्थ्य कार्यालयलाई सहभागीहरूले सुझाव दिएका छन् ।
प्रतिक्रिया