रामेछाप । रामेछापको मन्थली नगरपालिकाले आइतबार आफ्नो १० औँ स्थापना दिवस मनाएको छ । नगरप्रमुख लब श्रेष्ठको अध्यक्षता तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरपालिकाका महाशाखा प्रमुख हेमन्त बुढाथोकीले नगरपालिकाले हालसम्म गरेका कार्यक्रम र भावी कार्यदिशा प्रस्तुत गर्नुभएको थियो ।
मन्थली नगरपालिकामा पूर्वाधार निर्माण र विस्तार, उज्यालो सहरका रूपमा विकास गर्ने कार्यक्रम, विभिन्न आयोजना प्राथमिक करण गरी विस्तृत आयोजना प्रतिवेदन तयार गरेर सम्बन्धित निकायमा प्रस्तुत गर्ने, सरसफाइ, फोहोर व्यवस्थापन लगायतका काम अघि बढाइएको उहाँले जानकारी दिनुभयो । नगरपालिकाले विभिन्न कानुन निर्माण, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रका सुधारका कार्यक्रम, पशु, कृषि लगायतको क्षेत्रमा अनुदानका कार्यक्रम, उद्यम विकास, आयआर्जन लगायतका क्षेत्रमा धेरै काम गरेको उहाँले जानकारी दिनुभयो ।
Advertisement
त्यस्तै दिगो विकास लक्ष निर्धारण गरी विषयगत योजना निर्माण, पेपरलेस गभरमेन्समा जोड, वित्तीय जोखिम न्यूनीकरणका सूचकका आधारमा योजना तथा कार्यक्रम निर्माण, बाँझो जग्गा सदुपयोग गर्ने नीति, दूध, मासु, अण्डा, तरकारी र पशु आहारामा आत्मनिर्भर नगर, सबै वडा कार्यालयका आधुनिक भवन निर्माण, सबै वडामा पुग्ने सडक कालोपत्रे गर्ने, बालमैत्री शासन सञ्चालन भएको नगर घोषणा लगायतका कार्यक्रमलाई नगरले भावी कार्यदिशाको रूपमा लिएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले आवधिक योजनालाई आधार मानेर मुख्य उपलब्धिलाई ग्रहण गर्दै केही नयाँ काम समेत थप गरेर काम गरिरहेको जानकारी दिनुभयो । नगरपालिकाले गरेको कामलाई थप प्रभावकारी बनाउन रचनात्मक सुझाव दिन पनि उहाँले अनुरोध गर्नुभयो । कार्यक्रममा बोल्दै वाग्मती प्रदेश सभाका उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्द श्रेष्ठले स्थानीय तहको संरचनालाई अझ ठुलो बनाएर थप अधिकार सम्पन्न बनाउने विषयमा समेत कुरा चलिरहेकोले अब नगरपालिकाका काम थप प्रभावकारी रूपमा सञ्चालन हुनु पर्नेमा जोड दिनुभयो ।
Advertisement
कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले विकासको काममा आफूले सबै क्षेत्रमा काम गर्नुपर्ने भए पनि प्राथमिकताको क्षेत्र हेरेर काम गर्ने बताउनुभयो । अघिल्लो सरकारले ल्याएको बजेटमा काम गर्नुपरेकाले पनि अहिले सोचे जसरी काम गर्न नसकिएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया