रामेछाप । रामेछापको मन्थली नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो चौमासिकमा वार्षिक लक्ष्यको ४१.५३ प्रतिशत राजस्व सङ्कलन गरेको छ। यो वर्ष नगरपालिकाले तीन करोड ८५ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ। साउनदेखि कात्तिक मसान्तसम्म वार्षिक लक्ष्यको ४१.५३ प्रतिशत अर्थात् एक करोड ५९ लाख ८९ हजार १४२ रुपैयाँ राजस्व सङ्कलन भएको मन्थली नगरपालिकाका महाशाखा प्रमुख एवं सूचना अधिकारी हेमन्त बुढाथोकीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो “यो वर्ष नगरपालिकाले तीन करोड ८५ लाख रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको छ । पहिलो चौमासिक सकिँदा लक्ष्यको ४१.५३ प्रतिशत अर्थात् एक करोड ५९ लाख ८९ हजार भन्दा बढी आन्तरिक आम्दानी गरेको छ ।”
१४ वटा वडा रहेको मन्थली नगरपालिकाले पहिलो चौमासिकका वडा कार्यालय तर्फ ३३ लाख २६ हजार ३२२ रुपैयाँ राजश्व सङ्कलन भएको महाशाखा प्रमुख बुढाथोकीले बताउनुभयो । नगरको आन्तरिक आम्दानीलाई वृद्धि गर्नका लागि यो वर्ष नगरले आन्तरिक राजश्वका दरलाई यथावत् राखी राजश्वका श्रोत एवं दायरालाई समयानुकूल फराकिलो बनाउँदै लैजानले लगायतका ११ वटा योजना बनाएर काम गरिरहेको नगर प्रमुख लव श्रेष्ठले बताउनुभयो ।
Advertisement
कर र सेवा शुल्कको दायरामा आउन नसकेका सरकारी, सार्वजनिक तथा नगरको स्वामित्वमा रहेका जग्गा र ती जग्गामा बनेका संरचनाहरूलाई करको दायरामा ल्याउने काम भइरहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो “यो वर्ष नगरपालिकाले राजश्व सङ्कलन तथा परिचालन सम्बन्धी ११ वटा योजना बनाएर काम गरिरहेको छ । बनेका योजनाहरू कार्यान्वयन भइरहेका छन् । नगरले यो वर्ष मुख्य बजार केन्द्रहरूमा व्यवसाय दर्ता, नवीकरण शिविर सञ्चालन गर्ने लगायतका कार्यक्रमहरू सञ्चालन गर्दै छ ।”
मन्थली नगरपालिकाले गत आर्थिक २०८०÷८१ मा चार करोड ३० लाख रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएकोमा लक्ष्यको १०७.७८ प्रतिशत अर्थात् ४ करोड ६३ लाख ४६ हजार २२७ रुपैयाँ आम्दानी गरेको थियो । यसअघिको आर्थिक वर्ष २०७९÷०८० मा तीन करोड, ७३ लाख रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएकोमा लक्ष्यको ९०.६६ प्रतिशत अर्थात् ३ करोड ३८ लाख १५ हजार ६५० रुपैयाँ मात्रै राजश्व सङ्कलन गरेको थियो ।
प्रतिक्रिया