रामेछापमा यो वर्ष जुनार उत्पादन बढ्ने अनुमान, कृषक उत्साहित

रामेछाप । रामेछापको रामेछाप नगरपालिका–६ ओख्रेनीका टेकबहादुर तामाङको बारी यति बेला रहरलाग्दा जुनारका दानाले ढाकिएको छ । तामाङ विगत ७ वर्षदेखि जुनार तथा सुन्तलाको व्यावसायिक खेतीमा हुनुहुन्छ । केही वर्ष वैदेशिक रोजगारी गरेर फर्कनुभएका तामाङले तीन वर्ष अगाडि आरु खर्के कृषि तथा पशुपन्छी कृषि फर्म दर्ता गरी आफ्नै गाउँमा कृषि कर्म गरिरहनुभएको छ । उहाँको परिवारले भने यो भन्दा अगाडी देखि नै जुनार खेती सुरु गरेका थिए ।

सुरुमा थोरै जमिनबाट सुरु गरिएको जुनार खेती अहिले सात रोपनी भन्दा बढी जमिनमा बिस्तार भएको तामाङले बताउनुभयो । विगतका वर्षहरूमा भन्दा यो वर्ष जुनार राम्रो फलेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो “बगैँचामा यो वर्ष राम्रो जुनार फलेको छ । गत वर्ष ५० हजार रुपैयाँको जुनार बिक्री भएको थियो । यो वर्ष एक लाख रुपैयाँ भन्दा बढीको बिक्री गर्ने अनुमान छ । बगैँचा विस्तारकै क्रममा रहेकाले आगामी वर्षहरूमा उत्पादन बढ्दै जान्छ ।”

Advertisement

ओख्रेनीकै हिमाल तामाङ गत वर्ष भन्दा यो वर्ष जुनार उत्पादन दोब्बरले वृद्धि हुने अनुमान लगाउँदै उत्साहित हुनुहुन्छ । उहाँ २५ वर्ष भारतमा रोजगारी गरी गाउँ फर्किएपछि २०७४ सालबाट व्यावसायिक जुनार खेतीमा सक्रिय हुनुहुन्छ । यो वर्ष गत वर्ष भन्दा दोब्बरले जुनार उत्पादन बढ्ने अनुमान गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “यो वर्ष गत वर्षको भन्दा दोब्बरले बढी जुनार उत्पादन हुने अनुमान छ । गत वर्ष साढे दुई लाख रुपैयाँको जुनार बिक्री भएको थियो । यो वर्ष साढे चार लाख रुपैयाँ बढीको जुनार बेच्ने अनुमान छ ।”

अहिले आफ्नो जुनार बगैँचा १५ रोपनी क्षेत्रफलमा रहेको र यो वर्ष फेरी ७ रोपनी जमिनमा जुनार खेती विस्तार गर्ने तयारी गरिएको उहाँले बताउनुभयो । विगतका वर्षहरूमा भन्दा यो वर्ष राम्रो जुनार फलेपछि रामेछाप नगरपालिका–६ ओख्रेनीका जुनार कृषकहरू खुसी भएका छन् । विगतका केही वर्ष औँसा किराको प्रकोपले चिन्तामा रहेका यहाँका जुनार कृषकहरु पछिल्ला दुई वर्षदेखि जुनार उत्पादन बढेपछि उत्साहित भएका छन् ।
रामेछाप नगरपालिका–६ ओख्रेनी लगायतका ठाउँलाई केही वर्ष अगाडीदेखि जुनार जोन क्षेत्रको रूपमा विकास गरी जुनार, सुन्तला उत्पादक कृषकहरूलाई प्रोत्साहन गरिँदै आएको छ । यो वर्ष जुनार जोन क्षेत्रमा मात्रै चार हजार ५३६ मेट्रिक टन जुनार उत्पादन हुने अनुमान गरिएको छ । यस वर्ष जुनारमा कुनै प्रकारको रोग किरा नदेखिएका कारण पनि जुनार उत्पादन बढ्ने अनुमान गरिएको छ ।

Advertisement

गत वर्ष जुनार जोन क्षेत्रमा चार हजार ५०० मेट्रिक टन जुनार उत्पादन भएकोमा यो वर्ष गत वर्षको भन्दा ४ प्रतिशते जुनार उत्पादन बढ्ने अनुमान गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई रामेछापका प्रमुख थिरलाल गैरेले बताउनुभयो ।
उहाँले भन्नुभयो “अहिले रामेछापको जुनार जोन क्षेत्रमा ५४० हेक्टरमा जुनार लगायत अमिलो जातका फलफूलको व्यावसायिक खेती हुँदै आएको छ । किसानका जुनार बगैँचामा रहेका ६० प्रतिशत फल दिने बिरुवा रहेका छन् । यो वर्ष फल राम्रो भएकाले प्रति हेक्टर १४ मेट्रिक टन जुनार उत्पादन हुने अनुमान गरिएको छ । किसानले किलोको ५० रुपैयाँका दरले बिक्री गर्दा पनि यो वर्ष २२ करोड ६८ हजार रुपैयाँ बराबरको जुनार उत्पादन हुने अनुमान गरिएको छ ।”

रामेछाप रामेछाप नगरपालिकाको ओख्रेनी, गाइटार, सुकाजोर, रामेछाप, रामपुर, हिमगंगा लगायतका ठाउँमा व्यावसायिक रूपमा जुनार लगायतका अमिलो जातका फलफूलको व्यावसायिक रूपमा खेती हुँदै आएको छ । त्यसै गरी मन्थली नगरपालिकाको सालु, सुनारपानी, देउराली, भलुवाजोर, पुरानागाउँ, फुलासी लगायतका ठाउँहरूमा पनि व्यावसायिक रूपमा जुनार, सुन्तला र कागती खेती हुने गरेको छ । त्यसै गरी दोरम्बा शैलुङ, सुनापति, उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाको पनि विभिन्न ठाउँहरूमा जुनार, सुन्तला लगायत अमिलो जातका फलफूल खेती हुँदै आएको छ ।

Advertisement

कृषि विकास कार्यालय र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई लगायत स्थानीय सरकारले पनि किसानलाई अमिलो जातका फलफूल खेतीमा प्रोत्साहित गर्दै आएका छन् । यी निकायहरूले किसानलाई निःशुल्क प्राविधिक सहयोग, सिँचाई, बिरुवा, विषादीमा अनुदान तथा बजार व्यवस्थापनमा ५० देखी ७५ प्रतिशत सम्म सहयोग गर्दै आएका छन् । कृषि विकास कार्यालय रामेछापको तथ्याङ्क अनुसार दुई नगरपालिका र ६ वटा गाउँपालिकाको ६४ वटा वडा रहेको रामेछापमा एक हजार ३२३ हेक्टर भन्दा बढी क्षेत्रमा जुनार, सुन्तला लगायतका अमिलो जातका फलफूल खेती हुने गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च