रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–२ स्थित रत्नज्योती बजारमा सञ्चालित दुई वटा फार्मेसीमा सिलबन्दी गरिएको छ । अनुगमनका क्रममा नियम विपरीत सञ्चालन गरिएको पाएपछि दुई वटा फार्मेसी पसलमा सिलबन्दी गरिएको र एउटा सुनचाँदी पसले प्रयोग गरिरहेको अप्रमाणित डिजिटल वेट मेशिन दुई थान जफत गरिएको उद्योग तथा वाणिज्य कार्यालय रामेछापले जनाएको छ ।
उद्योग तथा वाणिज्य कार्यालय रामेछापका प्रमुख प्रमोद सिम्खडाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय रामेछापका प्रतिनिधि, उमाकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभिनय अधिकारी, उमाकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष खम्बध्ज बस्नेत, प्रहरी चौकी बाम्तिभण्डारका प्रमुख सहितको टोलीले गत बुधवार र बिहीबार रत्नज्योती बजारको अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा मानिसको स्वास्थ्य जस्तो संवेदनशीलतासँग जोडिएको मेडिकल नियम विपरीत सञ्चालन भएको पाइएपछि सिलबन्दी गरी आवश्यक कागजात सहित जिल्ला प्रशासनमा उपस्थित हुन भनिएको उद्योग तथा वाणिज्य कार्यालय रामेछापका प्रमुख प्रमोद सिम्खडाले बताउनुभयो ।
Advertisement
उहाँले भन्नुभयो “रत्नज्योती बजारमा सञ्चालन भएका फार्मेसीका बारेमा धेरै गुनासो आयो । यी फार्मेसीलाई गत वर्ष पनि अनुगमन टोलीले सचेत गराइएको पाइयो । तर अहिलेसम्म सञ्चालकले अटेर गरेको देखियो । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रसँग जोडिएको फार्मेसी पूर्ण रुपमा नियम विपरीत सञ्चालन हुन राम्रो होइन । फार्मेसीलाई सिलबन्दी गरी आवश्यक कागजात लिएर आउन बनेका छौँ ।”
अनुगमन टोलीले रात्नज्योती बजारमा सञ्चालित एउटा सुनचाँदी पसलबाट अप्रमाणित डिजिटल वेट मेशिन दुई थान जफत गरिएको समेत उहाँले बताउनुभयो । उहाँका अनुसार अनुगमन टोलीले रत्नज्योती बजारमा सञ्चालित फार्मेसी, खाद्यान्न तथा किराना पसल, सुनचाँदी पसल, हार्डवेयर, मासु पसल, कस्मेटिक पसल र मोटरसाइकल वर्कसप गरी २२ पसलहरूको अनुगमन गरेको थियो । अनुगमनका क्रममा १६ हजार ५३६ रुपैयाँ बराबरका अखाद्य बस्तु जफत गरिएको उहाँले बताउनुभयो ।
Advertisement
दर्ता, नवीकरण र प्रमाणीकरणका शिविर राख्न मान्दैन नाप तौल कार्यालय
व्यवसायीहरूले खरिद गरेका नाप तौलका नयाँ उपकरण ३५ दिन भित्र दर्ता गरिसक्नुपर्छ । सुनचाँदी व्यवसायीहरूले एक वर्ष र अन्य व्यवसायीहरूले दुई वर्ष भित्र अनिवार्य रूपमा नवीकरण गर्नुपर्छ । रामेछापका यी सबै काम गुणस्तर तथा नाप तौल कार्यालय जनकपुरबाट मात्रै हुन्छ ।
व्यवसायीहरूले प्रयोग गरिरहेका नाप तौलका उपकरणहरू दर्ता, नवीकरण र प्रमाणीकरणका लागि हरेक वर्ष जिल्ला स्तरमा गुणस्तर तथा नाप तौल कार्यालय जनकपुरले शिविर राख्नुपर्ने हो । तर यो कुरामा गुणस्तर तथा नाप तौल कार्यालय जनकपुरले कुनै वास्ता नगरेका कारण पनि अनुगमनका क्रममा व्यवसायीहरू विभिन्न समस्या पर्ने गरेको व्यवसायीहरूको गुनासो छ ।
नाप तौलका उपकरणहरू दर्ता, नवीकरण र प्रमाणीकरणका जिल्लामा शिविर राखिदिन उद्योग तथा वाणिज्य कार्यालय र रामेछाप उद्योग वाणिज्य सङ्घ लगायतका निकायले आग्रह गर्दा गुणस्तर तथा नाप तौल कार्यालय जनकपुरले अटेर गरिरहेको रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष नबिन थापा मगरले बताउनुभयो । उहाँले भन्नुभयो “नाप तौलका उपकरणहरू दर्ता, नवीकरण र प्रमाणीकरणका जिल्लामा शिविर राख्न पटक पटक आग्रह गरिएको छ । तर यो विषयमा गुणस्तर तथा नाप तौल कार्यालय जनकपुर विभिन्न बाहान बनाएर जिल्ला आउन मान्दैन । जसका कारण व्यवसायीहरू नाप तौलका उपकरणहरू दर्ता, नवीकरण र प्रमाणीकरणका लागि धेरै खर्च गरे जनकपुर नै जान बाध्य छन् ।”
Advertisement
प्रतिक्रिया