रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा सञ्चालित दिदी बहिनी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक वर्षमा २ लाख ४४ हजार रुपैयाँ मुनाफा कमाएको छ । संस्थाले गत आर्थिक वर्ष २०८०÷०८१ मा २ लाख ४४ हजार मुनाफा कमाउन सफल भएको शनिवार मन्थलीमा सम्पन्न संस्थाको १८ औँ वार्षिक साधारण सभामा सहकारीकी कोषाध्यक्ष यशोदा घिमिरेको तर्फबाट लेखा सुपरिवेक्षण समिति संयोजक पार्वती पाठकले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।
संस्थाकी अध्यक्ष सोभिता न्यौपानेको अध्यक्षता तथा जिल्ला सहकारी सङ्घ रामेछापका अध्यक्ष हिमाल ढुङ्गेलको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा प्रस्तुत आर्थिक प्रतिवेदनमा सहकारीले हालसम्म ८८ लाख रुपैयाँको कारोबार गरेको उल्लेख । ३७३ जना सेयर सदस्य रहेको संस्थाको शेयर पुँजी २ लाख ६० हजार ४०० रुपैयाँ पुगेको आर्थिक प्रतिवेदमा उल्लेख छ । संस्थाको जगेडा कोषमा ५ लाख ४५ हजार रुपैयाँ र अन्य कोषमा १५ लाख ३ हजार रुपैयाँ रहेको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।
Advertisement
कार्यक्रममा बोल्दै जिल्ला सहकारी सङ्घ रामेछापका अध्यक्ष हिमाल ढुङ्गेलले रामेछापमा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरू अब अनिवार्य रूपमा सहकारीको मर्म विधि र नियम अनुसार चल्नु पर्ने बताउनुभयो । अब पनि सहकारीहरू आफू खुसी चल्दै जाने हो भने धेरै सङ्कटमा पर्ने उहाँको भनाइ छ । देश भरी सहकारीको अनियमितता बारे समाचारहरू व्याप्त रूपमा आइरहँदा रामेछाप जिल्लामा सञ्चालित सहकारीहरु भने अहिलेसम्म सन्तुलित तवरले चलेको उहाँको दाबी छ ।
जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जगन्नाथ दाहालले अब सहकारीहरूले सदस्य विस्तार गर्ने भन्दा पनि भएका सदस्यलाई चुस्त दुरुस्त सेवा दिन सक्नुपर्ने बताउनुभयो । कार्यक्रममा संस्थाकी सचिव कल्पना सत्यालले संस्थाको प्रगति प्रतिवेदन र आगामी कार्य योजना प्रस्तुत गर्नुभएको थियो ।
प्रतिक्रिया