रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापमा दर्ता भएका घरेलु हिंसाका घटना मध्ये अधिकांशमा मिलापत्र भएको पाइएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मङ्गलवार मन्थलीमा भएको समापन तथा २०२४ को मानव अधिकार समीक्षा कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक कौशल न्यौपानेले प्रस्तुत गरेको कार्यपत्र अनुसार घरेलु हिंसाका अधिकांश घटनामा मिलापत्र भएको देखिएको छ ।
प्रहरी निरीक्षक न्यौपानेले प्रस्तुत गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९÷०८० मा जिल्ला प्रहरी कार्यालय रामेछापमा कुल २१ वटा घरेलु हिंसाका घटना दर्ता भएका थिए । भने सो वर्ष १३ वटा मुद्दामा मिलापत्र¸ ६ वटा मुद्दा अदालत पठाइएको थियो भने एक घटनाका उजुरी कर्ता सम्पर्कमा नआएको उल्लेख छ । आर्थिक वर्ष २०८०÷०८१ मा दर्ता भएका कुल १६ मुद्दा मध्ये १४ वटा घटनामा मिलापत्रका मध्यमबाट समाधान गरिएको थियो भने एउटा घटना अदालत र एक मुद्दाका उजुरी कर्ता सम्पर्कमा नआएको प्रहरी निरीक्षक कौशल न्यौपानेले बताउनु भयो । चालु आर्थिक वर्षको हाल सम्म दर्ता भएका ६ घटनामा सबै घटनालाई मिलापत्र गरिएको प्रस्तुत कार्यपत्रमा उल्लेख गरिएको छ ।
Advertisement
प्रस्तुत कार्यपत्र अनुसार सबै भन्दा बढी १८ देखि ४० वर्ष समूहका महिला घरेलु हिंसामा पर्ने गरेको उल्लेख छ । कार्यक्रममा मानव अधिकार संरक्षण सञ्जालका संयोजक तथा अधिवक्ता पाण्डव प्रसाईँले रामेछापमा मानव अधिकारको अवस्था बारेमा जानकारी दिनुका साथै मानव अधिकार संरक्षण सञ्जाले हाल सम्म सञ्चालन गरेको गतिविधिका बारेमा जानकारी गराउनु भयो थियो । भने कार्यक्रममा मन्थली नगरपालिकाकी सहायक महिला विकास अधिकृत भगवती तामाङले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा नगरपालिकाले सञ्चालन गरेको गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रम मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठको अध्यक्षता तथा जिल्ला समन्वय समिति रामेछापका उप प्रमुख प्रेम सागर थापा र मन्थली नगरपालिकाकी उप मेयर ईश्वरी बस्नेतको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया