रामेछाप । रामेछाप नगरपालिकाले मातृ तथा शिशु मृत्युदरलाई शून्यमा झार्न नगरभित्रका गर्भवती तथा सुत्केरी महिला लक्षित विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ । नगरपालिकाले वडा तहमै गर्भवती महिलाहरूका लागि निःशुल्क भिडियो एक्स–रे सेवा र सुत्केरीलाई कोसेली झोला प्रदान गरेको गरेको हो । गत मङ्सिर २५ गतेदेखि पुस २ गतेसम्म ९ वटै वडामा भिडियो एक्स–रे सेवा, पोषणयुक्त खानेकुरा वितरण सहित स्वास्थ्य सुरक्षा सम्बन्धी सचेतना मूलक कार्यक्रम पनि सञ्चालन गरेको छ ।
स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाहरूको सङ्ख्या बढाउन र पौष्टिक खानेकुरा खुवाउनुपर्छ भन्ने सन्देश दिन सञ्चालन गरिएको यो कार्यक्रम निकै प्रभावकारी भएको नगरपालिकाका जन स्वास्थ्य निरीक्षक ध्रुवकुमार मगरले बताउनुभयो । यो कार्यक्रम मार्फत ९ वटा वडाका ४८ जना गर्भवती र १०७ जना सुत्केरी महिलाहरू लाभान्वित भएका उहाँले बताउनुभयो । घरघरमा सुत्केरी गराउने प्रचलन हटाउन र सुत्केरी आमा तथा नवजात शिशुको पोषणमा सुधार ल्याउन पौष्टिक तत्त्वयुक्त खानेकुरा र सुत्केरी कोसेली झोला उपहार दिइएको नगरपालिकाका जन स्वास्थ्य निरीक्षक रामशरण पौडेलले बताउनुभयो ।
Advertisement
उहाँका अनुसार वडा नं १ गोठगाउँका ९ जना गर्भवती र १६ जना सुत्केरी, वडा नं २ देउरालीका २ जना गर्भवती र ७ जना सुत्केरी, वडा नं ३ साँघुटारका १३ जना सुत्केरी महिला लाभान्वित भएका छन् । त्यसै गरी वडा नं ४ हिमगंगाका ८ जना गर्भवती, ९ जना सुत्केरी, वडा नं ५ रामपुरका ६ जना गर्भवती र ८ जना सुत्केरी, वडा नं ६ ओख्रेनीका ४ जना गर्भवती र १३ जना सुत्केरी, वडा नं ७ सुकाजोरका १७ जना सुत्केरी र १० जना गर्भवती महिलाहरू लाभान्वित भएका छन् । त्यस्तै वडा नं ८ रामेछापका ६ जना गर्भवती र १८ जना सुत्केरी र वडा नं ९ ल्याङल्याङका ३ जना गर्भवती र ६ सुत्केरी महिला लाभान्वित भएका छन् । गर्भवतीहरूको निःशुल्क भिडियो एक्स–रे गरी अण्डा लगायतका पोषणयुक्त खानेकुरा र सुत्केरी महिलालाई घ्यू, तेल र बेबी किट जस्ता सामाग्रीहरू वितरण गरिएको उहाँले बताउनुभयो ।
गर्भवती महिलाहरूको लागी निःशुल्क भिडियो एक्स–रे सेवा सहित गर्भवती र सुत्केरीले खान पिन र आफ्नो स्वास्थ्य सुरक्षाका लागि ख्याल गर्नुपर्ने कुराहरूका बारेमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको उपप्रमुख बालकुमारी कार्की थापाले बताउनुभयो । निर्वाचनमा भोट माग्दा र निर्वाचित भएपछि महिलाका लागि विभिन्न कार्यक्रम ल्याउने प्रतिबद्धता गरिएका र सोही अनुसार महिला लक्षित विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।
Advertisement
प्रतिक्रिया