रामेछाप । नेकपा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश प्रसाद ढुङ्गेलले यो मुलुकको विकासका लागि वर्तमान सरकारको विकल्प नभएको बताउनुभएको छ । आइतबार रामेछाप सदरमुकाम मन्थलीमा नेपाल पत्रकार महासंघ रामेछापका नवनिर्वाचित पदाधिकारीहरूसँगको भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री समेत रहनुभएको अध्यक्ष ढुङ्गेलले मुलुकका ठुला राजनीतिक पार्टीहरू नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनेको वर्तमान सरकार भन्दा अर्को कुनै पनि विकल्प नरहेको बताउनुभयो ।
Advertisement
उहाँले भन्नुभयो “अहिले नेपालका मूलधारका दुई प्रमुख दलहरू एमाले र काँग्रेस मिलेर सरकार बनाएका छन् । यो सरकार पनि बदलिनु पर्ने अवस्था भयो भने नेपालको लोकतान्त्रिक अभ्यासको अर्को विकल्प छैन । यो कुरा प्राक्टिस भइसकेको छ । यही सरकारले मुलुकको दिगो विकास गर्छ । यसमा कुनै शङ्का छैन ।”
अहिलेको सरकार सरकारका लागि सरकार नबनेर काम गर्नका लागि बनेको उहाँको भनाई छ । मुलुक विकासका लागि वर्तमान सरकार नै अन्तिम विकल्प भएको थाहा पाएपछि अहिले अराजकतावादीहरू सरकारलाई छरपस्ट पार्न सक्रिय बनेको उहाँले बताउनुभयो । अहिले काँग्रेस एमालेको गठबन्धन भए पनि अराजकतावादीहरूले विभिन्न माध्यमबाट प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रहार गरिरहेको अध्यक्ष ढुङ्गेलले बताउनुभयो ।
Advertisement
उहाँले भन्नुभयो “यो सरकारको विकल्प नदेखेपछि यो सरकारलाई छरपस्ट पार्न अराजकतावादीहरू लागेका छन् । यस्ता अराजकतावादीहरूले नेपाल श्रीलङ्का, बङ्गलादेश बन्छ भन्दै हल्ला गरिरहेका छन् । विशेष गरी काँग्रेस र एमालेको सरकार छ । प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ । अराजकतावादीहरूले प्रधानमन्त्री केपी शर्मा ओली माथि प्रहार गरिरहेका छन् ।”
प्रतिक्रिया