रामेछाप । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका नवनिर्वाचित अध्यक्ष कृष्णसारु मगरले पत्रकार महासंघको गरिमा कायम राख्दै समाजमा गर्विलो उपस्थिति चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।
गत मङ्सिर २८ गते सम्पन्न पत्रकार महासंघको अधिवेशनबाट प्रदेश अध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक रामेछाप आउनुभएका अध्यक्ष मगरले बुधवार रामेछाप शाखामा आयोजित पत्रकार भेटघाट, बधाई तथा धन्यवाद कार्यक्रममा यस्तो बताउनुभएको हो ।
Advertisement
उहाँले मुलुकमा मिडिया र पत्रकार बलियो भए मात्रै लोकतन्त्र र नागरिक आवाज पनि बलियो हुने भएकाले यही कुरालाई ध्यानमा राखेर काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो “मिडिया र पत्रकार बलियो हुँदा लोकतन्त्र र नागरिक आवाज पनि बलियो हुन्छ । त्यस कारण पनि समाजमा हाम्रो उपस्थिति गर्विलो बनाउन । पत्रकार महासंघको अहिलेको गरिमा कायम राख्नु हामीलाई चुनौतीपूर्ण छ । यी सबै कुराहरूलाई चिर्दै अहिलेको नेतृत्वले धेरै काम गर्नुपर्ने छ । सबैको साथ सहयोगमा अहिलेको नेतृत्वले काम गर्नेछ । ”
पछिल्लो समयमा पत्रकारिता माथिको व्यावसायिक सुरक्षा, पत्रकारहरूको भौतिक सुरक्षा र मिडियामाथि अहिले ठुलो आर्थिक सङ्कटको स्थिति रहेको उहाँको बताउनुभयो । पत्रकारितामाथि देखिएको अहिलेको प्रविधिको हस्तक्षेप र नागरिकले विश्वसनीयता माथि गरिरहेको प्रश्नहरूलाई चिर्न अहिलेको नेतृत्वले धेरै काम गर्नुपर्ने उहाँले बताउनुभयो ।
Advertisement
पत्रकारिताका क्षेत्रमा देखिएका चुनौतीहरूलाई चिर्ने गरी काम गर्न नेपाल पत्रकार महासंघको सबै जिल्ला शाखाहरूको महत्त्वपूर्ण भूमिका रहने उहाँले बताउनुभयो । पत्रकार महासङ्घका केन्द्रीय सदस्य नवराज पथिकले अहिले मिडिया र पत्रकारिता क्षेत्रमा देखिएका चुनौतीहरूको सामना गर्न महासंघको जिल्ला शाखा, प्रदेश र केन्द्रीय समितिले प्रभावकारी योजनाका साथ काम गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया