रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकालाई २०८३ माघ मसान्तसम्म बालमैत्री स्थानीय शासनयुक्त पालिका बनाउन सरोकारवालाहरूले प्रतिबद्धता जनाएका छन् ।
गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार, उपाध्यक्ष सावित्री सुनुवार, प्रमुख प्रशासकीय अधिकृत अभिनय अधिकारी लगायत गाउँपालिकाका सबै जनप्रतिनिधिहरूले प्रतिबद्धता गरेका हुन् ।
गाउँपालिकाले जनप्रतिनिधिहरू र बाल सरोकारवालाहरूका लागि पुस १२ र १३ गते आयोजना गरेको बालमैत्री स्थानीय शासन सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रममा अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत लगायत सरोकारवालाहरूले प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरेका छन् ।
Advertisement
प्रतिबद्धता पत्रमा गाउँपालिकाका सबै जनप्रतिनिधिहरूले हस्ताक्षर गरेर २०८३ साल माघ मसान्तसम्म उमाकुण्ड गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गरिने उल्लेख छ ।
उमाकुण्ड गाउँपालिकालाई तोकिएको समयभन्दा अघि नै स्थानीय बालमैत्री शासनयुक्त पालिका बनाउने गरी काम गर्ने गाउँपालिका अध्यक्ष सुनुवारले बताउनुभयो ।
उहाँले भन्नुभयो“उमाकुण्ड गाउँपालिकालाई प्रतिबद्धता जनाएको समय भन्दा अगाडी नै बालमैत्री स्थानीय शासनयुक्त पालिका बनाउँछौँ। हामीले गरेको प्रतिबद्धतालाई पूरा गर्न सबै गाउँपालिकावासीको पनि सहयोग र समर्थनको खाँचो हुन्छ । सबैको साथ र सहयोगमा हामी हाम्रो लक्ष्य पूरागर्छौ।”
Advertisement
बालमैत्री पालिका बनाउन आवश्यक ५१ वटा सूचकहरू प्राप्त गर्नका लागि गाउँपालिका लगायत सरोकारवाला सबै पक्ष एक भएर लाग्ने गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारले बताउनुभयो । उहाँले भन्नुभयो “जसरी पनि २०८३ माघ मसान्तसम्म बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्छौ । यसका लागि आवश्यक सूचक प्राप्तिका लागि प्रभावकारी योजनाका साथ काम गर्छौ।”
यो अभियानका लागि वडा अध्यक्ष, कार्यपालिकाका सदस्य, वडा सदस्य, विभिन्न शाखाका प्रमुख, माध्यमिक विद्यालयका प्रधानाध्यापक, बाल क्लब र बाल अधिकार समितिका पदाधिकारी, टोल विकास समितिका पदाधिकारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र महिला स्वयंसेवकहरूले प्रतिबद्धता जनाएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया