रामेछाप । रामेछापको मन्थली नगरपालिकामा पहिलो पटक दुई दिने कृषि तथा लघु उद्यम प्रदर्शनी मेला सुरु भएको छ ।
शिक्षित स्वस्थ, व्यावसायिक सहर, उत्थानशील र समृद्ध मन्थली नगर भन्ने मूल नाराका साथ मन्थली नगरपालिकाले आयोजना गरेको मेलाको मङ्गलवार ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ कान्छारामले उद्घाटन गर्नुभएको छ ।
पुस १७ गते बुधवारसम्म चल्ने प्रदर्शनी मेलामा मन्थली नगरपालिकाभित्र उत्पादन तथा प्रशोधन भएका बाली वस्तुहरू प्रदर्शनीमा राखिएको छ ।
५३ वटा स्टल रहेको प्रदर्शनी मेलामा कृषक तथा उद्यमीहरूले बालीतर्फ तरकारी, फलफूल, रैथाने बाली, दलहन, मौरीजन्य चिया कफी मसला बाली नर्सरी फूल कन्दमूल लगायतका उपजहरू राखेका छन् ।
पशुपन्छी तर्फ खसी, बोका, अन्डा र दूधजन्य उत्पादनहरू प्रदर्शनीमा राखेका छन् । लघु उद्यम तर्फ ढाका, साबुन, सर्फ,बाँसबाट बनाइएका सामाग्रीहरू होजियारी, दुना टपरी जुस प्रदर्शनीमा राखेका छन् ।
Advertisement
प्रदर्शनी मेलाको उद्घाटन गर्दै ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री तामाङले कृषकहरूलाई आफूले उत्पादन गरेका उपज तथा बस्तुहरूलाई बजारसँग जोड्न यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले भन्नुभयो “यस्ता मेला, महोत्सवहरूले बजार चलायमान बनाउँछ । कृषि तथा लघु उद्यम प्रदर्शनी मेला मन्थली नगरपालिकाका कृषक लागि महत्पूर्ण छ । यसले यहाँका किसान तथा उद्यमीहरूले उत्पादन गरेका कृषि उपज र सामाग्रीहरूलाई बजारसँग जोड्न ठुलो टेवा पुग्छ ।”
राज्यमन्त्री तामाङले १२ सय मेघा वाट विद्युत् उत्पादन हुने रामेछापको खिम्ती–शिवालय जलविद्युत आयोजना निर्माणका लागि आफूले आवश्यक पहल गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो “खिम्ती–शिवालय जलविद्युत आयोजना बन्यो भने त्यहाँबाट १२ सय मेघा वाट विद्युत् उत्पादन हुन्छ । यो आयोजना निर्माण गर्न अन्य आयोजनाको तुलनामा अत्यन्तै कम लगानी लाग्छ भन्ने अनुमान छ । यो आयोजना निर्माणको फाइल वन मन्त्रालयमा पुगेको छ । वन मन्त्रालयबाट काम भएमा आगामी आर्थिक वर्षमा आयोजना निर्माण गर्न बजेट व्यवस्था हुन्छ ।”
बागमती प्रदेश सांसद एवं प्रदेश उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्द श्रेष्ठ र प्रदेश सांसद तारानारायण श्रेष्ठले कृषि तथा लघु उद्यम प्रदर्शनी मेलाले नगरपालिका भित्रका कृषकहरूलाई थप उत्साहित बनाएको बताउनुभयो । कृषि क्षेत्रका विकासका लागि स्थानीय सरकारले यस्ता कार्यक्रमहरूमा पनि जोड दिनुपर्ने उहाँहरूको सुझाव थियो ।
Advertisement
मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले नगरपालिकाले कृषकहरुलाई प्रदान गरेको अनुदान सहायता कार्यक्रमको प्रभावकारितालाई आकलन गर्न पहिलो पटक कृषि तथा लघु उद्यम प्रदर्शनी मेला आयोजना गरिएको बताउनुभयो । यो कार्यक्रमको अनुभव र कृषकहरूको माग अनुसार अन्य वर्षहरूमा पनि यस्ता कार्यक्रमहरू सञ्चालन गरिने उहाँले बताउनुभयो ।
प्रतिक्रिया