रामेछाप । रामेछापको हिमाली पालिका उमाकुण्ड गाउँपालिकाले एसइई नतिजा सुधारका लागि स्मार्ट तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।
गाउँपालिकाका माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष तथा प्रधानाध्यापकहरूको संयुक्त बैठक प्रश्चात गाउँपालिकाले एसइई परीक्षामा अधिकतम विद्यार्थी उत्तीर्ण गराउन तीन महिने स्मार्ट एसइई तयारी कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
अब प्रत्येक शनिवार एसइईमा सहभागी हुने विद्यार्थीको साप्ताहिक परीक्षा सञ्चालन गरी सिकाई उपलब्धि सुधारका लागि पृष्ठपोषण प्रदान गरिनेछ ।
सबै विद्यार्थीको न्यूनतम सिकाई उपलब्धि ४० प्रतिशत सुनिश्चित गरी माध्यमिक विद्यालयमा अध्ययनरत न्यून सिकाई उपलब्धि भएका कमजोर विद्यार्थीहरूको पहिचान गरी सुधारात्मक कक्षा सञ्चालन हुनेछ ।
Advertisement
त्यसै गरी विषयगत सिकाई उपलब्धिको आधारमा विद्यालय र शिक्षकको कार्यसम्पादन मूल्याङ्कन गरी सोही बमोजिम प्रोत्साहन र दण्डित गर्ने तथा सुधारात्मक तथा उपचारात्मक कक्षा सञ्चालन गर्न स्रोतको व्यवस्था गाउँपालिकाले गर्ने निर्णय गरेको छ ।
गाउँपालिका शिक्षा क्षेत्रको सुधारका लागि विभिन्न योजना बनाएर लागि परेको उमाकुण्ड गाउँपालिका शिक्षा शाखा अधिकृत वासुदेव मश्राङ्गीले बताउनुभयो । पालिकाले बनाएको योजना अनुसार शिक्षामा गुणस्तर ल्याउन अभिभावकको भूमिका पनि त्यतिकै महत्पूर्ण हुने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो “सामुदायिक शिक्षामा सुधार अहिलेको आवश्यकता हो । यो कुरामा गम्भीर बनेर स्थानीय सरकारले विभिन्न योजनाहरू बनाएको छ । एसइई नतिजा सुधारका लागि स्मार्ट तयारी कक्षा सञ्चालन पनि यही योजना अन्तरगतको एक हो ।” विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून हुँदै गएकाले विद्यालय मर्ज गरी विद्यार्थीलाई यातायातको व्यवस्था मिलाउनु पर्ने उहाँको राय छ ।
Advertisement
शिक्षा क्षेत्रको विकास नभई अन्य जति काम गरे पनि समाज परिवर्तन नहुने भएकोले शिक्षालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले बताउनुभयो । उहाँले भन्नुभयो “शिक्षा क्षेत्रको विकास विना समाज परिवर्तन सम्भव छैन । त्यसैले शिक्षा क्षेत्रको सुधारका लागि सबै खालका प्रयत्न गर्न अत्यावश्यक छ । यसको लागि गाउँपालिकाले आवश्यक श्रोत जुटाएर लाग्नेछ ।”
प्रतिक्रिया