रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई तातो ओढ्ने कपडा प्रदान गरेको छ । खाँडादेवी गाउँपालिकाले वृद्ध–वृद्धा भेटघाट तथा ब्ल्याङ्केट वितरण कार्यक्रम अन्तरगत ज्येष्ठ नागरिकलाई न्यानो ओढ्ने ब्ल्याङ्केट वितरण गरेको हो ।
यो कार्यक्रम मार्फत ८५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमा नै गएर ब्ल्याङ्केट वितरण गरिने गाउँपालिकाकी उपाध्यक्ष रमा घिसिङले बताउनुभयो । उहाँले भन्नुभयो “गाउँपालिकाले वृद्ध–वृद्धा भेटघाट तथा ब्ल्याङ्केट वितरण कार्यक्रम बनाएको छ । यो कार्यक्रम वडा नं ९ पिङ्खुरीबाट शुभारम्भ भएको छ । ९ वटा वडा रहेको गाउँपालिकामा ८५ वर्ष नाघेका २१७ जना ज्येष्ठ नागरिक रहेका छन् । उहाँहरू सबैलाई घरमा नै गएर ब्ल्याङ्केट वितरण गर्ने कार्यक्रम रहेको छ ।”
Advertisement
गाउँपालिकामा रहेका ८५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई अत्यावश्यक ठानेर गाउँपालिकाले वृद्ध–वृद्धा भेटघाट तथा ब्ल्याङ्केट वितरण कार्यक्रम बनाएको गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताउनुभयो । यो कार्यक्रम अन्तरगत चुनावका बेला गरिएको प्रतिबद्धता कार्यान्वयनको अवस्था र वृद्ध–वृद्धाको आवश्यकता पहिचान पनि गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो “जसको कोही छैन । केही छैन भने गाउँपालिका उहाँहरूका लागि गाउँपालिका छ । हामीले चुनावमा भोट माग्ने बेला वृद्ध–वृद्धा अवस्था बुझ्न घर– घरमा पुग्नेछौ । सोही प्रतिबद्धता अनुसार अहिले वृद्ध–वृद्धा भेटघाट तथा ब्ल्याङ्केट वितरण कार्यक्रम मार्फत सबैको घरमा पुगिरहेका छौँ ।”
Advertisement
यो कार्यक्रम अन्तरगत वृद्ध–वृद्धालाई सरकारले उपलब्ध गराइरहेको सामाजिक सुरक्षा भत्ता वृद्ध–वृद्धाको हातमा परे नपरेको समेत जानकारी सहित वृद्ध–वृद्धाको समस्याहरू सुनेर समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराइएको उहाँले बताउनुभयो ।
जनप्रतिनिधिहरू ब्ल्याङ्केट बोकेर आफूहरूलाई घरमा नै भेट्न आएकोमा ज्येष्ठ नागरिकले खुसी भएका छन् ।
प्रतिक्रिया