विकासे अड्डाहरूको बजेट खर्चको अवस्था दयनीय

रामेछाप । रामेछाप जिल्लामा रहेका विकासे अड्डाहरूको बजेट खर्चको अवस्था दयनीय देखिएको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को ६ महिना बित्नै लाग्दा ठुला योजना कार्यान्वयन गर्दै आएका विकासे अड्डाहरूको विकास बजेट खर्चको अवस्था न्यून देखिएको हो ।

विकासे अड्डाहरूको प्रगतिलाई हेर्दा यस वर्ष पनि विकास बजेट विगतका वर्षहरूमा जस्तै फ्रिज जाने पो हो कि भन्ने चिन्ता बढाएको छ ।
सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापले हालसम्म १० प्रतिशत वित्तीय प्रगति गरेको छ । यो कार्यालयले चालु आर्थिक वर्षमा २८ करोड रुपैयाँ बजेटका योजना सम्पन्न गर्नुपर्नेमा हालसम्म १० प्रतिशत मात्रै बजेट खर्च गर्न सकेको छ ।

Advertisement

कार्यालयको यो वर्ष २८ करोड रुपैयाँ बजेट रहेकोमा हालसम्म जम्मा बजेटको १० प्रतिशत अर्थात् दुई करोड ८० लाख रुपैयाँ बजेट खर्च भएको कार्यालयका इन्जिनियर शिवराम महर्जनले बताउनुभयो । यो कार्यालय मार्फत १५ महिनामा काम सक्ने गरी २०७८ सालमै जिल्लाका विभिन्न स्थानमा काम सुरु भएका १९ वटा स्वास्थ्य चौकीहरू भवन अलपत्र अवस्थामा छन् । नौ महिनासम्म काम रोकिएका स्वास्थ्य चौकीहरू भवन निर्माणको काम अहिले निर्माण कम्पनीले सुरु गरेको इन्जिनियर महर्जनले बताउनुभयो ।

खानेपानी तथा सरसफाइ डिभिजन नं ४ कार्यालयले यो अवधिसम्म १४ प्रतिशत बजेट खर्च गरेको छ । कार्यालयले यो वर्ष २१ करोड ७० लाख रुपैयाँ बजेटको काम गर्नुपर्नेमा हालसम्म १४ प्रतिशत वित्तीय र २४.०५ प्रतिशत भौतिक प्रगति गरेको कार्यालय प्रमुख अनिलप्रसाद केसरीले बताउनुभयो ।

Advertisement

उहाँका अनुसार कार्यालयले १५६ वटा योजनाहरू सम्पन्न गर्नुपर्नेमा अहिलेसम्म प्रदेश तर्फको २७ वटा र सङ्घ तर्फको एउटा गरी २८ वटा सम्झौता भएका छन् । प्रदेशतर्फका ४० वटा र सङ्घ तर्फका ४ गरी ४४ वटा योजनाहरू सम्झौता हुन सकेको छैन ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले हालसम्म जम्मा दुई प्रतिशत मात्रै वित्तीय प्रगति गरेको छ । यो वर्ष २० करोड रुपैयाँ पुँजीगत र एक करोड १५ लाख रुपैयाँ चालु बजेट रहेको यो कार्यालयले हालसम्म जम्मा दुई प्रतिशत वित्तीय र लगभग २० प्रतिशत भौतिक प्रगति भएको कार्यालय प्रमुख गोविन्दप्रसाद भुर्तेलले बताउनुभयो ।
उहाँका अनुसार बहुवर्षीय , क्रमगत र मर्मत सहित सिचाइ तर्फ ८९ वटा र नदी नियन्त्रण तर्फ ५० योजना सम्पन्न हुनुपर्नेमा हालसम्म ५० वटा योजना सम्झौताको चरणमा गएकोमा ३० वटा योजना सम्झौता भएका छन् ।

Advertisement

त्यस्तै पूर्वाधार विकास कार्यालय रामेछापको अवस्था पनि उस्तै छ । यो कार्यालयले अहिलेसम्म चालु तर्फ ३५.०४ प्रगति गर्दा विकास बजेट (पुँजीगत) तर्फ जम्मा ४.५३ प्रतिशत मात्रै प्रगति भएको कार्यालय प्रमुख बिरेन्द्रकुमार बज्राचार्यले बताउनुभयो । यो वर्ष यो कार्यालयले ९१ वटा योजना सम्पन्न गर्नुपर्नेमा ५० लाख रुपैयाँसम्मका ६२ वटा योजनाहरू उपभोक्ता समिति मार्फत बन्नुपर्नेमा अहिलेसम्म १२ वटा योजना मात्रै सम्झौता भएको र अन्यको स्टमेड लगायतका काम भइरहेकाले आउने माघ पहिलो हप्तासम्म सम्झौता सक्ने उहाँले बताउनुभयो ।

रामेछापलाई पनि कार्यक्षेत्र बनाएर काम गर्दै आएको सडक डिभिजन कार्यालय खाल्टे सिन्धुलीको प्रगति पनि दयनीय नै देखिएको छ । यो कार्यालयको रामेछाप जिल्लामा बिनियो जित बजेट तथा योजनामा हालसम्म वित्तीय प्रगति ४ प्रतिशत र भौतिक प्रगति १० प्रतिशत रहेको कार्यालयका इन्जिनियर तुलाकान्त चौधरीले बताउनुभयो ।

भू–तथा जलाधार व्यवस्थापन कार्यालयको भने जिल्लाका अन्य विकासे कार्यालयको भन्दा प्रगति राम्रो देखिएको छ । यो कार्यालयले हालसम्म नौ करोड ४३ लाख ७० हजार रुपैयाँ बजेटमा २६.५२ प्रतिशत पुँजीगत र चालु तर्फ २५.५३ प्रतिशत प्रगति भएको कार्यालय प्रमुख सुरेश दाहालले बताउनुभयो । उहाँले भन्नुभयो “रामेछापमा ५५ वटा योजना सम्पन्न हुनुपर्छ । जसमा २५ वटा योजना सम्पन्न भइसकेका छन् । २० वटा योजनाको काम भइरहेका छन् । १० वटा योजना प्रक्रियामा गएका छन् । यसलाई हेर्दा ७५ प्रतिशत भौतिक प्रगति भएको देखिन्छ ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च