रामेछाप । झन्डै एक वर्षसम्म काम रोकिँदा रुग्ण बनेको रामेछापको मन्थली नगरपालिका–८ स्थित चिसापानी स्वास्थ्य चौकी निर्माणको काम सुरु भएको छ ।
यो स्वास्थ्य चौकी २०७२ सालको महाभूकम्पले भत्किएपछि १५ महिनामा काम सक्ने गरी २०७८ असारबाट निर्माण सुरु भएको थियो ।
भारत सरकारको सहयोगमा तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) मन्थली मार्फत स्काई जे.बि विवश इन्टरनेशनल प्रालिले एक करोड ८७ लाख रुपियाँ भन्दा बढीमा ठेक्का सम्झौता गरी काम थालेको थियो । अहिले यो योजना सघन सहरी तथा भवन निर्माण आयोजना रामेछाप मार्फत सञ्चालन भइरहेको छ ।
Advertisement
निर्माण कम्पनीले सम्झौता अनुसार काम नगरेकै कारण २०७९ असोज महिनामै निर्माण सम्पन्न हुनुपर्ने स्वास्थ्य चौकी भवन अझै सम्पन्न नभएको मन्थली नगरपालिका–८ चिसापानीका वडा अध्यक्ष गोपाल श्रेष्ठ बताउनुहुन्छ । निर्माण व्यवसायीले पटक÷पटक काम रोकपछि भवन निर्माण योजना रुग्ण बन्दा नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा दिन समस्या भएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘‘१५ महिनामा काम सक्ने गरी २०७८ असारबाट स्वास्थ्य चौकी निर्माणको काम सुरु भयो । गाउँमा सुविधा सम्पन्न स्वास्थ्य चौकी बन्ने भएपछि नागरिक खुसी भएका थिए । तर ठेकेदारले समयमै काम नसकेपछि पटक पटक म्याद थप भइसकेको छ । निरन्तर ताकेता पछि अहिले फेरी काम सुरु भएको छ ।’’
Advertisement
अहिलेको गतिमा काम भए अबको दुई महिनाभित्र स्वास्थ्य चौकी भवन बन्ने वडा अध्यक्ष श्रेष्ठ बताउनुभयो । चिसापानी स्वास्थ्य चौकी जस्तै स्काई जे.बि विवश निर्माण सेवाले ठेक्का पाएको जिल्ला भरका १९ मध्ये अधिकांश स्वास्थ्य संस्थाहरूको भवन अपूर्ण छन् । सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापका अनुसार यो कम्पनीले १५ महिनामा काम सक्ने गरी २०७८ वैशाख ८ गतेबाट जिल्लाका विभिन्न स्थानका १९ वटा स्वास्थ्य चौकी निर्माणको कामको थालेको थियो ।
सम्झौता अनुसार काम गर्न सकेपछि २०७९ चैत २७ गतेसम्म काम सक्ने गरी पहिलो पटक, २०८० मङ्सिर २० गतेसम्म काम सक्ने गरी दोस्रो पटक र २०८० वैशाखसम्म काम सम्पन्न हुने तेस्रो पटक म्याद थप गरिएको थियो ।
Advertisement
यो समयसम्म पनि काम सम्पन्न नगरेपछि चौथो पटक म्याद थपको तयारी भएको सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापका इन्जिनियर शिवराम महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो“९ महिना निर्माण व्यवसायी सम्पर्क विहीन हुँदा स्वास्थ्य चौकी भवनहरू रुग्ण अवस्थामा पुगे । अहिले निर्माण व्यवसायी सम्पर्कमा आएर प्रतिबद्धता अनुसार काम सुरु गरेको छ ।
निर्माण व्यवसायीले आगामी असार सम्म ११ प्याकेजका पाँच वटा र आठ वटा प्याकेजका दुई वटा गरी ७ वटा स्वास्थ्य चौकी भवन निर्माण सक्ने प्रतिबद्धता जनाएको छ ।”
निर्माण व्यवसायीले प्रतिबद्धता अनुसार काम गर्न नसकेमा भारतीय दूतावास लगायत सरोकारवाला निकायसँग समन्वय गरेर कार्यालयले आवश्यक कदम चाल्ने इन्जिनियर महर्जनको भनाइ छ । सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापका अनुसार जिल्लामा ११ वटा स्वास्थ्य चौकी भ्याट बाहेक १९ करोड ३७ लाख ८७ हजार र आठ वटा स्वास्थ्य चौकी २० करोड ५२ लाख ४५ हजार रुपैयाँ लागतमा निर्माण सुरु गरिएको थियो ।
प्रतिक्रिया