रामेछाप । चालु आर्थिक वर्षको ६ महिना बित्न लाग्दा रामेछाप नगरपालिकाको विकास बजेट खर्च न्यून देखिएको छ । ९ वटा वडाहरू रहेको रामेछाप नगरपालिकाको पुस २४ गते १६ औँ नगर सभा सम्पन्न हुँदासम्म विकास बजेट अर्थात् पुँजीगत बजेट जम्मा ५ प्रतिशत मात्रै खर्च गरेको हो ।
नगरपालिकाले बिहीबार नेपाल पत्रकार महासङ्घ रामेछापका नवनिर्वाचित पदाधिकारीहरूको स्वागत तथा अभिनन्दन एवं १६ औँ नगर सभाले गरेको निर्णयहरू सार्वजनीकिकरण कार्यक्रममा यसबारे जनाकारी दिएको हो ।
कार्यक्रममा नगर प्रवक्ता एवं वडा नं ७ सुकाजोरका वडा अध्यक्ष समीर कार्कीले चालु आर्थिक वर्ष २०८१÷०८२ मा विकास बजेट अर्थात् पुँजीगत २५ करोड २१ लाख ६५ हजार ८२८ रुपैयाँ बजेट रहेकोमा हालसम्म ५.१ प्रतिशत अर्थात् एक करोड २७ लाख ९१ हजार रुपैयाँ खर्च भएको बताउनुभयो ।
त्यसै गरी चालु तर्फ विनियोजित ५१ करोड ३७ लाख ३ हजार ७२३ बजेटमा २५.०६४ प्रतिशत अर्थात् १२ करोड ८७ लाख ४४ हजार ७१५ रुपैयाँ खर्च भएको उहाँले बताउनुभयो । नगरपालिकाले हालसम्म चालु र पुँजीगत गरी जम्मा ६७ करोड ८८ लाख ६९ हजार ५४१ रुपैयाँ बजेटको १८.०४ प्रतिशत १४ करोड १५ लाख ३५ हजार ७२७ खर्च गरेको उहाँले बताउनुभयो ।
Advertisement
बुधवार सम्पन्न भएको १६ औँ नगर सभाले नगरपालिकाको प्रमुख सडकको रूपमा रहेको सेलेघाट बजार साँघुटार सडक स्तरोन्नतिको कामलाई यथाशीघ्र सम्पन्न गर्नका लागि निर्माण व्यवसायी तथा सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
त्यसै गरी नगर शिक्षा मस्यौदा तयार भइसकेकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नयाँ शैक्षिक सत्र सुरु हुनु अघि विद्यालय पुनः संरचना र शिक्षकको दरबन्दी पुनरावलोकन गर्ने प्रतिबद्धता गरिएको पनि उहाँले बताउनुभयो ।
Advertisement
नगर सभाले बलामैत्री स्थानीय शान र पोषणमैत्री स्थानीय शासनलाई प्राथमिकतामा राखी अघि बढ्ने प्रतिबद्धता गर्दै अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा, गृहिणी महिला सशक्तीकरण कार्यक्रम, बालश्रममुक्त पालिका, दलित सशक्तीकरण कार्यक्रमलाई महत्वका साथ सञ्चालन गर्ने प्रतिबद्धता गरिएको पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा नगरपालिका उपप्रमुख बालकुमारी कार्कीले नगर विकासका लागि नगरले सञ्चालन गतिविधिहरूका बारेमा सत्य, तथ्य र निष्पक्ष रूपमा समाचारहरु सम्प्रेषण गरिदिन पत्र कारहरूलाई आग्रह गर्नुभएको छ ।
Advertisement
नगरपालिका प्रमुख लव श्री न्यौपानेले नगरपालिका सवै वडाहरूको विकासका लागि दीर्घकालीन योजनाका साथ अगाडी बढेकाले नगरले बनाएको योजना सफल बनाउन पत्रकारहरूको पनि ठुलो भूमिका हुने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवराज पथिक र जिल्ला अध्यक्ष दीपककुमार घिमिरेले नगरपालिकाको विकासका बारेमा विभिन्न सुझावहरू दिनुभएको थियो ।
प्रतिक्रिया