पशु सेवा कार्यालय नहुँदा समस्या भोग्नु परेको गुनासो, मन्त्रीले भने प्रदेशको ध्यानाकर्षण भयो

रामेछाप । रामेछापका उद्योगी तथा व्यवसायीहरूले जिल्लामा पशु सेवा कार्यालय नहुँदा विभिन्न समस्या भोग्नुपरेको गुनासो गरेका छन् । आइतबार सदरमुकाम मन्थलीमा बागमती प्रदेश उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले आयोजना गरेको उद्योग वाणिज्य क्षेत्रका सरोकारवालासँग अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले यस्तो गुनासो गरेका हुन् ।

जिल्लामा पशु सेवा कार्यालय नहुँदा पशुपन्छी जन्य उद्योगहरू स्थापना गर्न, पशुपन्छीको निकासी पैठारी र बिक्री वितरण अनुमतिका लागि विभिन्न समस्याहरू भोग्नुपरेको नेशनल ब्रीडिङ फार्म प्रालिका सञ्चालक रुद्रकुमार श्रेष्ठले बताउनुभयो ।

Advertisement

उहाँले भन्नुभयो“ जिल्लामा दक्ष चिकित्सक सहितको पशु सेवा कार्यालय छैन । जसको प्रत्यक्ष मारमा व्यवसायीहरू छन् । पशुपन्छीको निकासी पैठारी र बिक्री वितरण अनुमति लिन सिन्धुली, दोलखा, काभ्रे लगायत काठमाडौँ जिल्ला धाउनुपर्ने अवस्था छ । यस्ता विभिन्न झन्झटका कारण धेरै उद्योगहरू बन्द भइसके ।”
बागमती प्रदेश सरकार अन्तरगत रामेछाप जिल्लालाई समेत हेर्ने गरी सिन्धुलीमा पशु सेवा कार्यालय भए पनि सो कार्यालयले रामेछापमा प्रभावकारी काम गर्न नसकेको चिरञ्जीवी डेरी उद्योग मन्थलीका सञ्चालक भानु श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो “जिल्लामा पशु सेवा कार्यालय नहुँदा किसानदेखि उद्योगीहरूलाई धेरै समस्या भएको छ । रामेछापलाई पनि हेर्ने गरी छिमेकी जिल्लामा पशु सेवा कार्यालय सञ्चालनमा छ । तर त्यो कार्यालयको सेवा लिन सिन्धुली नै पुग्नुपर्दा किसानदेखि उद्योगीहरू समस्या मारमा छन् ।”
कार्यक्रममा बागमती प्रदेश सांसद तारानारायण श्रेष्ठले जनताको आवाज बोल्ने संसद् बन्द गरेर सरकारले जनहित विरोधी काम गरेको भन्दै तत्काल प्रदेशको संसद् सुचारु गर्न माग गर्नुभयो । रामेछाप उद्योग वाणिज्य कार्यालयको यो वर्ष एक करोड रुपैयाँ बजेट रहेकोमा मन्त्रीको ध्यानाकर्षण गराउँदै यस्तो बजेटले देश विकास नहुने बताउनुभयो ।

Advertisement

बागमती प्रदेश उद्योग पर्यटन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठले उद्योग वाणिज्य क्षेत्र लगायत सबै क्षत्रमा धेरै समस्याहरू रहेको बताउनुभयो । यस्ता तमाम समस्याहरूको भावनात्मक कुरा गरेर मात्रै नुहुने भन्दै समस्याहरूको पहिचान गरी बिस्तारै समाधान गर्दै लैजानुपर्नेमा उहाँको जोड छ । भएका उद्योग धन्दाहरूलाई व्यवस्थित गरी आयातलाई घटाउँदै निर्यात बढाउने गरी प्रदेश सरकार लागेको उहाँले बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेश उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले प्रदेशका सबै जिल्लामा उद्योग वाणिज्य क्षेत्रका समस्या पहिचान गरी आवश्यक योजना तथा कार्यक्रम बनाउन सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम रामेछापबाट सुरु गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो “जिल्लामा उद्योग वाणिज्य क्षेत्रमा रहेका समस्या लिन यो कार्यक्रम रामेछापबाट सुरुवात गरिएको हो । कार्यक्रममा उद्योग वाणिज्य क्षेत्रको समस्या, चुनौती र सम्भावनाहरू बारे धेरै कुराहरू आएका छन् । अब सरोकारवाला निकाय सहित विज्ञहरूसँग आवश्यक छलफल गरी यसलाई सम्बोधन गर्न मन्त्रालय लाग्नेछ ।”उहाँले अब विकास भनेको पूर्वाधार मात्रै हो भन्ने मानसिकताबाट सबै मुक्त हुनुपर्ने बताउनुभयो ।

Advertisement

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च