दुर्गम हिमाली गाउँको विद्यालयमा दिवा आवास, इन्टरनेट र विद्युत् पनि जडान

रामेछाप । रामेछापको दुर्गम हिमाली गाउँ लाहाछेवरका विद्यार्थीको लागि विद्यालयमा नै दिवा आवासको व्यवस्था गरिएको छ ।

जिल्लाको उत्तरी भेगको अन्तिम बस्ती उमाकुण्ड गाउँपालिका–१ लाहाछेवर स्थित श्री हिमालय आधारभूत विद्यालयमा पढ्ने विद्यार्थीलाई विद्यालयमा नै दिवा आवासको व्यवस्था गरिएको हो ।
समुन्द्री सतहदेखि २ हजार ७५० मिटरको उचाइमा रहेको लाहाछेवर बस्तीमा वडा कार्यालयको आर्थिक सहयोगमा विद्यार्थीलाई बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म दिवा आवास सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक पोटराज घिमिरेले बताउनुभयो ।

Advertisement

उहाँले भन्नुभयो“ विद्यार्थीहरू नियमित विद्यालय नआउने । आए पनि समयमा विद्यालय नआउने । विद्यालय आउँदा पनि गृहकार्य नगरी आउने जस्ता समस्या देखियो । यसै कुरालाई ध्यानमा राखेर बिहानदेखि साँझसम्म विद्यालयमा बसेर पठनपाठन गर्ने व्यवस्था मिलाइएको हो ।”
बिहान ७ बजे विद्यालय आउने विद्यार्थीलाई बिहानको खाजा, खाना तथा दिउँसोको खाजा समेत खाने व्यवस्था विद्यालयमा नै मिलाइएको उहाँले बताउनुभयो ।
स्थानीयका अनुसार विद्यालयमा विद्यार्थी थोरै भए पनि लाहाछेवरबाट अर्को विद्यालयसम्म पुग्न निक्कै टाढा भएपछि लाहाछेवरमा २०३७ सालदेखि नियमित रूपमा विद्यालय सञ्चालन गरिएको हो ।

विद्यार्थीको नियमित उपस्थिति र पठनपाठनलाई व्यवस्थित गराउन दिवा आवास सहितको कक्षा सञ्चालन गरिएको उमाकुण्ड गाउँपालिकाको शिक्षा शाखाका अधिकृत ङावा शेर्पाले बताउनुभयो ।

Advertisement

उहाँले भन्नुभयो “विद्यार्थीहरू बिहान सबेरै विद्यालय आउँछन् । १० बजेसम्म पढ्छन् । १० बजे नियमित कक्षा सुरु हुन्छ । ४ बजेपछि पनि विद्यालयमा नै बसेर गृहकार्य गर्छन् । गृहकार्य सकेपछि साँझ ५ बजे पछि मात्र घर फर्कन्छन् ।” विद्यालयमा कार्यरत शिक्षकहरूलाई विद्यालयमा नै आवास र निःशुल्क खानाको व्यवस्था मिलाइएको पनि उहाँले बताउनुभयो ।
विद्यालयमा इन्टरनेट तथा विद्युत् जडान
श्री हिमालय आधारभूत विद्यालयमा इन्टरनेट तथा विद्युत् जडान गरिएको छ । कम्प्युटर, प्रिन्टर र बालबालिकालाई चिसोबाट बचाउन हिटरको समेत व्यवस्था गरिएको उमाकुण्ड गाउँपालिका–१ गुम्देलका वडा अध्यक्ष ङावातिण्डु शेर्पाले बताउनुभयो ।
शिक्षा क्षेत्रको विकास बिना अन्य क्षेत्रको विकास कठिन रहेकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर आफूहरू लागि परेको उमाकुण्ड उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो “शिक्षा क्षेत्रको विकास विना अन्य क्षेत्रको विकास कठिन छ । त्यस कारण अन्य क्षेत्रलाई थाती राखेर भए पनि शिक्षाकै विकासमा लागेका छौँ । जग नै राम्रो भएन भने माथि राम्रो हुँदैन । आधारभूत विद्यालयलाई नै दिवा आवासीय बनाउन लागेका छौँ ।”

Advertisement

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च