रामेछाप । महालङ्गुर हिमशृङ्खला अन्तर्गतका नुम्बुर हिमालको काखमा अवस्थित रामेछापको उमाकुण्ड गाउँपालिका–१ गुम्देलमा पुग्ने जो कोहीको मनै लोभ्याउँछ ।
जिल्लाकै एक मात्र हिमाली गाउँ गुम्देलको लाहाछेवर रामेछापको अन्तिम मानव बस्ती पनि हो । विगतमा निक्कै दुर्गम मानिने गुम्देल अहिले सडक सञ्जालमा जोडिएपछि सुगम बनेको छ ।
Advertisement
कच्ची नै भए पनि जिल्ला सदरमुकाम मन्थलीबाट गुम्देलसम्म पुग्ने सडक बनेको छ । वर्षाको बेलामा सामान्य अवरोध बाहेक अहिले मन्थलीबाट गुम्देलसम्म नियमित यातायात सञ्चालन भइरहेका छन् ।
सदरमुकाम मन्थलीबाट ६ घण्टाको यात्रापछि गुम्देलको लाहाछेवर अर्थात् अन्तिम मानव बस्ती पुगिने स्थानीय बताउँछन् ।
गुम्देल र लाहाछेवरको बिचमा उमातिर्थ मन्दिर रहेको र लिखु र हिमगंगाको संगम स्थलमा रहेको यो स्थानलाई हिन्दू धर्मालम्बिहरुले उत्तर काशी भनेर आस्थाको केन्द्र मान्ने गरेको स्थानीय डोमा शेर्पा बताउनहुन्छ । उमातिर्थ मन्दिर दर्शनका लागि टाढा टाढाबाट मानिसहरू आउने गरेको उहाँको भनाइ छ ।
Advertisement
मन्थलीबाट ठोसे, चुचुरेको शिवालय, बाम्ती हुँदै गुम्देल पुगिन्छ । यी स्थान पनि प्राकृतिक रूपले अति सुन्दर र मनोरम छन् । अहिले गुम्देलमा खान, बस्न कुनै समस्या छैन । गुम्देलमा राम्रै होटेल तथा लजहरू छन् । गुम्देलबाट पैदल यात्रा गर्दै अझ अघि बढ्न चाहनेको लागि प्राकृतिक रूपमा बनेको कावा गुम्बा, दूध पोखरी लगायतका विभिन्न हिमपोखरीहरुसम्म पुग्ने बाटो छ । जहाँ पुगेर हिउँ हेर्न मात्र होइन छाम्न र खेल्न पनि पाइने स्थानीय समेत रहेका पत्रकार मिलन विक बताउनहुन्छ ।
उहाँले भन्नुभयो “लाहाछेवरबाट ५÷६ घण्टाको पैदल यात्रा गरेपछि दूध पोखरी पुगिन्छ । त्यस पछि त हिउँ नै हिउँ । जहाँ हिउँको मज्जा लिन पाइन्छ । सबै हिसाबले उमाकुण्ड गाउँपालिका–१ गुम्देलले ठुलो पर्यटकीय सम्भावना बोकेको छ ।”
Advertisement
उमाकुण्ड गाउँपालिकाको समृद्धिको आधार भनेको कृषि ,पर्यटन र जलश्रोत नै हो । यो गाउँपालिकालाई धार्मिक, ऐतिहासिक र रमणीय स्थलले भरिभराउ गाउँपालिका मानिन्छ । धार्मिक तथा पर्यटकीय हिसाबले महत्त्वपूर्ण मानिने पाँच पोखरी, जट्टा पोखरि लगायतका महत्त्वपूर्ण ताल तलैया प्रवेश गर्ने मुख्य प्रवेशद्वार यही गाउँपालिकामा पर्छ ।
ताँमेडाँडा क्षेत्र, उमा तीर्थ मन्दिर, विभिन्न चण्डी मन्दिर लगायत धेरै ऐतिहासिक तथा धार्मिक स्थलहरू रहेकाले यो गाउँपालिकाको हरेक वडालाई धार्मिक तथा पर्यटकीय हिसाबले महत्त्वपूर्ण रहेको गाउँपालिकाको भनाइ छ ।
प्रतिक्रिया