रामेछाप । रामेछाप सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले महिलाका लागि सिपमूलक तालीमहरू सञ्चालन गर्ने भएको छ ।
नगरपालिका र बागमती प्रदेश सामाजिक विकास मन्त्रालय, सामाजिक विकास कार्यालय धुलिखेलबिच भएको सम्झौता अनुसार यो वर्ष १५ दिने, एक महिने र तीन महिने सिपमूलक तालीमहरू सञ्चालन गर्न लागेको हो ।
Advertisement
चालु आर्थिक वर्ष २०८१÷०८२ को गृहिणी महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत नगरपालिकाका क्षेत्र भित्रका गृहिणी महिलाहरू÷गृहिणी महिला समूहहरूको लागि सीपमूलक तालीमहरू सञ्चालन गर्न लागिएको नगरपालिकाको आर्थिक विकास उपशाखा प्रमुख गोविन्द कटेलले बताउनुभयो । तालिममा सहभागिताका लागि सम्बन्धित वडा कार्यालय वा नगरपालिकाको कार्यालयमा आवेदन पेस गर्नुपर्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो “नगरपालिकाले विगतका वर्षहरूमा पनि सीपमूलक तालीमहरू सञ्चालन गरिरहेकै हो । तर यो वर्ष अलि व्यापक रूपमा नै महिलाहरू लक्षित तालीमहरू सञ्चालन गर्ने तयारी हो । यसका लागि नगरपालिको आवेदन माग गरिसकेको छ ।”
Advertisement
उहाँका अनुसार यो वर्ष १५ दिने सेनिटरी प्याड बनाउने तालिम , १५ दिने दूधको परिकार बनाउने , एक महिने जुत्ता चप्पल बनाउने , तीन महिने थान्का पेन्टिङ बनाउने तालिम, तीन महिने गलैँचा बुन्ने र तीन महिने उलनको कपडा बनाउने तालिम सञ्चालन हुनेछन् । सबै तालिममा २० देखि ३० जनासम्म महिलाहरूको सहभागिता रहने आर्थिक विकास उपशाखा प्रमुख कटेलले बताउनुभयो ।
तालिममा सहभागी हुने समूहलाई नगरपालिकामा दर्ता गरी व्यवसायको प्रकृति हेरी एक लाख रुपैयाँसम्म विउपुँजि तथा प्रविधि सहयोग गरिने उहाँले बताउनुभयो । यस्ता समूहको प्रत्येक सदस्यले तालिम पश्चात् प्रति महिना एक सय रुपैयाँ आफ्नो समूहको कोषमा जम्मा गर्नुपर्ने उहाँको भनाइ छ ।
Advertisement
प्रतिक्रिया