रामेछाप । रामेछापको मन्थली नगरपालिकाले सञ्चालन गरेको सुत्केरीसँग उपप्रमुख र छोरी जन्मलाई प्रोत्साहन कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
नगरले स्वास्थ्य केन्द्रहरूमा सुरक्षित प्रसूति सेवा अभिवृद्धि गर्ने र छोरी जन्मलाई प्रोत्साहन गर्ने खालका गतिविधिहरू सञ्चालन गरिरहेको छ ।
नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ को स्वास्थ्य क्षेत्र तर्फको कार्यक्रम मध्ये यो दुई वटा कार्यक्रमलाई महत्वका साथ सञ्चालन गरिरहेको छ । नगरभित्रका ६ वटा २४ घण्टे प्रसूति केन्द्रहरूमा यो कार्यक्रम सञ्चालनमा छ ।
Advertisement
वडा नं १ को मन्थली अस्पताल, वडा नं २ को कठजोर स्वास्थ्य चौकी, वडा नं ४ को सालु स्वास्थ्य चौकी, वडा नं ९ को पुरानागाउँ स्वास्थ्य चौकी, वडा नं ११ को गेलु प्राथमिक स्वास्थ्य केन्द्र र वडा नं १३ को फुलासी स्वास्थ्य चौकीबाट यो कार्यक्रम सञ्चालन भइरहेका छन् ।
यो कार्यक्रम मार्फत गर्भवती तथा सुत्केरी महिलाहरूले स्वास्थ्य सुरक्षा सम्बन्धी जानकारी सहित पोषणयुक्त खानेकुरा र प्रोत्साहन भत्ता समेत प्राप्त गरिरहेका छन् ।
स्वास्थ्य केन्द्रहरूमा सुरक्षित प्रसूति सेवा अभिवृद्धि गर्न सुत्केरीसँग उपप्रमुख कार्यक्रम अन्तरगत सुत्केरी महिलाहरूसँग भेटघाट गरी पोषणयुक्त खानेकुरा वितरण सहित आमा र बच्चाको स्वास्थ्य सुरक्षा सम्बन्धी सचेतना अभिवृद्धिको काम गरिएको स्वास्थ्य शाखा प्रमुख केशवराज फुयाँले बताउनुभयो ।
Advertisement
छोरी जन्मलाई प्रोत्साहन कार्यक्रम अन्तरगत छोरी जन्माउनेलाई तीन हजार रुपैयाँ प्रोत्साहन भत्ता प्रदान गरिएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो “यो वर्ष सुत्केरीसँग उपप्रमुख र छोरी जन्मलाई प्रोत्साहन कार्यक्रम अलि महत्वका साथ सञ्चालन गरिएको छ । यसको प्रभाव पनि राम्रो देखिएको छ । सुत्केरीसँग भेटघाट कार्यक्रम मार्फत दुई हजार ५०० रुपैयाँ बराबरको बेबी केयर किट सहित पोषणयुक्त खानेकुरा प्रदान गरिएको छ । कार्यक्रम लागु भएका ६ वटा २४ घण्टे प्रसूति केन्द्रहरूमा कम्तीमा ४ पटक गर्भ जाँच गरी सुत्केरी हुनेले यो सुविधा पाउँछन् ।”
यो कार्यक्रम लागु भएका प्रसूति केन्द्रहरूमा सुत्केरी भई छोरी जन्माउने नगरभित्रका नागरिकलाई छोरी जन्मलाई प्रोत्साहन कार्यक्रम अन्तरगत तीन हजार रुपैयाँ प्रोत्साहन भत्ता प्रदान गरिएको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म मातृ तथा शिशु मृत्युदर कम गर्नका लागि सञ्चालन भएको सुत्केरीसँग उपप्रमुख कार्यक्रम मार्फत २०० जना बढी लाभान्वित भएका उहाँले बताउनुभयो ।
Advertisement
त्यसैगरी छोरी जन्मलाई प्रोत्साहन कार्यक्रम मार्फत छोरी जन्माउने ८९ जनालाई प्रति व्यत्ति तीन हजारका दरले प्रोत्साहन भत्ता प्रदान गरिएको उहाँले बताउनुभयो ।
नगरपालिकाले बनाएको गर्भवती र सुत्केरी महिला लक्षित सुत्केरीसँग उपप्रमुख कार्यक्रम र छोरी जन्मलाई प्रोत्साहन कार्यक्रमलाई थप प्रभावकारी बनाउने गरी नगरपालिका लागि परेको मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेतले बताउनुभयो ।
उहाँले भन्नुभयो “चालु आर्थिक वर्षको साउनदेखि माघ महिनासम्म अस्पतालमै कम्तीमा ४ पटक गर्भ चेक जाँच गराई अस्पतालमै बच्चा जन्माउने दिदीबहिनीहरूसँग भेटघाट गरियो । मन्थली अस्पतालमा मात्रै १६२ जना महिला दिदीबहिनीहरूसँग सुत्केरी भेट कार्यक्रम र छोरी जन्माउनेलाई प्रति व्यक्ति तीन हजार रुपैयाँका दरले प्रोत्साहन भत्ता हस्तान्तरण गरियो ।”
मन्थली नगरपालिकाले सुत्केरी भेटका लागि स्वास्थ्यकर्मी द्धारा घर भेट कार्यक्रम सञ्चालन गरिरहेको र जटिल प्रसूतिका लागि रेफरल फण्ड मार्फत निःशुल्क एम्बुलेन्स सेवा पनि प्रदान गरिरहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया