रामेछाप । रामेछापको रामेछाप नगरपालिका–६ ओख्रेनी डान्सिङटारका मोतीबहादुर आले मगरले ७ कक्षा पढ्दापढ्दै कलिलै उमेरमा विवाह गर्नुभयो ।
बिहेपछि उहाँको पढाइ छुट्यो । दुई छोरी र दुई छोरा जन्मिए । परिवार बढेपछि काँधमा जिम्मेवारी पनि थपियो । उहाँले परिवार चलाउन गाउँमै जे भेटिन्छ त्यही काम पनि गर्नुभयो । तर गाउँको कमाइले परिवार चलाउन सहज भएन । त्यसपछि उहाँ २०५८ सालमा सय कडा पाँचमा ऋण काढेर मलेसिया जानुभयो ।
३ वर्ष मलेसिया बसेर कमाएको पैसाले घरपरिवार चलाउँदै गरेर पनि १८ लाख बचत भयो । सो बचतले मोतीबहादुरले २०६२ सालमा सदरमुकाम मन्थलीमा घडेरी किन्नुभयो । त्यसपछि ७ वर्ष गाउँमै परिवारसँग बस्नुभयो ।
Advertisement
तर फेरि उहाँलाई खर्च अभावले सताउन थाल्यो । फेरि २०६९ सालमा वैदेशिक रोजगारीमै दुबई जानुभयो । दुबईमा उहाँले कम्प्युटरका पाट्र्स बनाउने कम्पनीमा १० वर्ष काम गर्नुभयो । दुबई बसाइ उहाँका लागि वरदान साबित भयो । उहाँले मासिक रूपमा पठाउने पैसा यता श्रीमती आइतीमायाले राम्रोसँग बचत गर्दै जानुभयो ।
त्यो पैसाले सदरमुकाम मन्थलीमा एउटा तीन तले पक्की घर र ट्रस्ट हालेर अर्को घर बन्यो । ०७९ सालमा दुबईबाट फर्किएपछि मोतीबहादुर एक सय वर्ष पुग्नै लागेका वयोवृद्ध पिताको हेरविचार गर्दै स्वदेशमै बसिरहनुभएको छ ।
Advertisement
वैदेशिक रोजगारीको १३ वर्षमा मोतीबहादुर ४ करोड रुपैयाँभन्दा बढीको मालिक बन्नुभएको छ । आफूले विदेशमा कमाएर पठाएको रकमलाई परिवारले सदुपयोग गरी सही ठाउँमा लगाउँदा अहिले ४ करोड रुपैयाँ भन्दा बढीको मालिक बनाएको उहाँले बताउनुभयो ।
“१० वर्षमा राम्रै कमाइ थियो र त्यही अनुसार परिवारले पनि राम्रो बचत गरिदिए”, मोतीबहादुरले भन्नुभयो ।
मोतीबहादुरले विदेशमा दुःख गरिरहँदा उहाँकी जीवनसाथी आइतीमायाले पनि यता आफूले सक्दो मिहिनेत गरेर घर खर्च चलाउँदै रेमिट्यान्सबाट आएको पैसा जोगाउनुभयो । लामो सङ्घर्षपछि घरमा भित्रिएको सुख र समृद्धिलाई आइतीमाया चौतारीको वरपीपलको आनन्दसँग तुलना गर्नुहुन्छ । “अहिले सुखी, शान्त, आनन्द, खुसी बनाएर राख्नुभएको छ मेरो बुढोले । मैले पनि बुढोले कमाएको सम्पत्ति पछिका लागि, छोराछोरीका लागि, बुढ्यौली भएको अवस्थामा खानुपर्छ भनेर सोचेँ”, मोतीबहादुरकी श्रीमती आइतीमाया मगरले भन्नुभयो ।
Advertisement
मन्थलीका दुइटा घरमध्ये तीन तले पक्की घर मोतीबहादुरले भाडामा लगाउनुभएको छ । ट्रस्टको घरको एउटा सटरमा कान्छा छोरा बलराजले मोटरसाइकल वर्कसप चलाउनुभएको छ । बाँकी सटर भाडामै छन् । बुवाले १३ वर्ष विदेशमा बगाएको पसिनाले आएको पारिवारिक खुसी व्यक्त गर्नै नसकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “बाबा विदेशीदा मलाई राम्रो थाहा पनि छैन । त्यस बेला म सानै थिए । बुवाले विदेशकै सम्पत्तिबाट जोड्नुभएको घर हो, जग्गा हो । हामीले अहिले भाडा तिर्नुपर्दैन । बुवाकै हो ।” बुबाले विदेशमा दुःख गरेर पठाएको रेमिटेन्स सिङ्गो परिवारलाई नै खुसी बनाएको उहाँले बताउनुभयो ।
विदेशमा दुःखले कमाएको पैसा सही ठाउँमा प्रयोग गरी परिवारमा समृद्धि भित्र्याउने मोतीबहादुर उदाहरणीय पात्र हुनुहुन्छ । उहाँ जस्ता धेरै मोतीबहादुरहरूले विदेशमा कमाएको रेमिट्यान्सले परिवारमा ल्याएको खुसी रामेछापका टोल टोलमा भेट्न सकिन्छ ।
प्रतिक्रिया