सिन्धुली । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बिपी लोक मार्ग निर्माणमा स्रोत अभाव हुन नदिने बताउनुभएको छ । शनिवार बिपी लोक मार्गको निरीक्षण गर्दै भौतिक पूर्वाधार मन्त्री दाहालले बाढीले क्षतिग्रस्त सडक निर्माणमा स्रोतको अभाव हुन नदिने बताउनुभएको हो ।
मन्त्री दाहालले क्षतिग्रस्त सडक खण्डमा तत्काल पुननिर्माणको काम सुरु गर्न पनि निर्देशन दिनुभएको छ । उहाँले बर्खा याममा यातायात अवरुद्ध हुन नदिने गरी काम सुरु गर्न सडक विभागको ध्यानाकर्षण गराउनुभएको छ ।
Advertisement
मन्त्रीसँगै बिपी लोक मार्ग अनुगमनमा पुगेका मन्त्रालयका सचिव केशवकुमार शर्माले विभागको जनशक्ति र उपकरण समेत तत्काल परिचालन गरेर काम सुरु गर्न सडक विभागलाई आग्रह गर्नुभयो ।
गत असोज दोस्रो साता आएको बाढीले काभ्रे भन्ज्याङ–नेपाल थोक खण्डको १२ किलोमिटर सडक क्षतिग्रस्त भएको थियो । ८.७ किमी सडक खण्ड रोशी खोलाले बगाएको थियो । सडक निर्माणका लागि अध्ययनको काम सकिए पनि बजेट अभावका कारण थप प्रक्रिया अघि बढ्न सकेको छैन । विपि लोकमार्ग हुँदै दैनिक ३ हजार बढी सवारी साधन आवात जावत गर्ने गरेका छन् ।
प्रतिक्रिया