रामेछाप । रामेछाप जिल्लाकै सबै भन्दा बढी बिरामीको चाप हुने मन्थली अस्पतालले नयाँ भवनबाट सेवा दिन थालेको छ । अस्पतालले आफ्नो चौथो वार्षिक उत्सवको अवसरमा आइतबारदेखि नयाँ भवनबाट आफ्नो सेवा पनि सुरुवात गरेको छ ।
मन्थली नगरपालिकाले २०७८ माघ २७ गतेदेखि मन्थली प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ बेडको मन्थली नगर अस्पतालका रूपमा सञ्चालन गरिरहेको छ ।
सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापबाट नौ करोड ३२ लाख ५० हजार ९८६ रुपैयाँमा निर्माण भएको नयाँ भवनबाट मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले रिबन काटेर औपचारिक रूपमा सेवा शुभारम्भ गर्नुभयो ।
Advertisement
नवनिर्मित भवनबाट अस्पतालको सेवा शुभारम्भ गर्दै नगर प्रमुख श्रेष्ठले अब अस्पतालको सेवा थप प्रभाकारी बन्दै जाने विश्वास व्यक्त गर्नुभयो । अस्पतालको भवन निर्माणका क्रममा पटक पटक काम रोकिँदा तोकिएको समयमा भन्दा ढिलो निर्माण भए पनि अस्पताले सुविधा सम्पन्न भवन पाएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो“केही वर्ष ढिला गरी भए पनि अस्पतालले नयाँ भवन पाएको छ । यो हामी सबैका लागि राम्रो कुरा हो । अब ठाउँको अभावमा अस्पतालको सेवा प्रवाह गर्न समस्या हुँदैन भन्ने लागेको छ । अस्पतालको सेवा थप प्रभावकारी हुन्छ भन्ने नगरले विश्वास पनि लिएको छ ।”
यो अस्पताललाई ५० बेडको बागमती प्रदेश स्तरीय अस्पतालका रूपमा सञ्चालन गर्न नगरपालिका लागि परेको समेत उहाँले बताउनुभयो ।
जिल्ला सदरमुकाम मन्थलीमा सञ्चालित अस्पतालबाट रामेछाप सहित छिमेकी ओखलढुङ्गा, दोलखा, सोलुखुम्बु र सिन्धुली जिल्लाका नागरिकले सेवा लिँदै आएका छन् ।
यो अस्पतालले एक जना एमडिजीपी एन्ड इमर्जेन्सी फिजिसियन सहित तीन जना डाक्टर मार्फत प्रदान गर्दै आएको छ । मन्थली अस्पताले अहिले २४ घण्टा इमरजेन्सी सेवा , पोस्ट मार्टम, शल्यक्रिया सहितको सुत्केरी सेवा, फिँजियो थेरापी, आँखा र दन्त सेवा, ल्याब सेवा लगायतका विभिन्न २५ भन्दा बढी सेवाहरू प्रदान गरिरहेको अस्पतालका प्रमुख डा.केशव धामीले बताउनुभयो ।
Advertisement
दैनिक २०० बढी नागरिकलाई सेवा दिँदै आएको मन्थली अस्पतालबाट स्वास्थ्य बिमा मार्फत नागरिकले पाउने औषधी सेवा पनि उपलब्ध गराइएको उहाँले बताउनुभयो । नगरपालिकाकै गौरव मन्थली अस्पतालको सेवा विस्तार गरी अस्पताललाई ५० बेडको बागमती प्रदेश स्तरीय अस्पतालका रूपमा सञ्चलन गर्ने गरी नगरपालिका लागि परेको मन्थली नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशवराज फुयाँलले बताउनुभयो ।
आफ्नो चौथो वार्षिक उत्सवका अवसरमा अस्पतालले खुल्ला म्याराथन प्रतियोगिता पनि आयोजना गरेको छ । कार्यक्रममा अस्पतालमा कार्यरत कर्मचारीहरूले विभिन्न साङ्गतिक तथा चेतनामूलक प्रस्तुतिहरू समेत दिएका थिए ।
Advertisement
प्रतिक्रिया