रामेछाप । पर्वतारोही प्रकाश राज पाण्डेले दक्षिण अमेरिकी महादेशको सबैभन्दा अग्लो शिखरको सफल आरोहण गर्नुभएको छ ।
रामेछापको लिखुतामाकोशी गाउँपालिका–७ तिल्पुङ स्थायी घर भएका पाण्डेले यही फेब्रुअरी ६ तारिखमा अर्जेन्टिना स्थित माउन्ट अकोन्कागुआको सफलतापूर्वक आरोहण गर्नुभएको हो । आरोही पाण्डेले अकोन्कागुआको शिखरमा स्थानीय समय अनुसार बिहान ७ः५० बजे चन्द्र सूर्य अङ्कित नेपाली राष्ट्रिय झन्डा फहराउनुभएको थियो ।
Advertisement
सातै महादेशका सर्वोच्च शिखरहरूको आरोहण गर्ने अभियान अन्तर्गत पाण्डे प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रिय झन्डा लिई जनवरी २१ मा अर्जेन्टिनाको ब्युनस आयर्सतर्फ प्रस्थान गर्नुभएको थियो । पर्वतारोहणको क्षेत्रमा विशेष मानिने सेभन समिट अभियानमा पाण्डेको यो चौथो हिमाल आरोहण हो भने समग्रमा यो ११ औँ आरोहण हो ।
पाण्डे २०२२ देखि यस अभियानमा हुनुहुन्छ । यस अभियानमा पान्डैसँग कीर्तिमानी पर्वतारोही चतुर तामाङ पनि हुनुहुन्छ । अन्य मुलुकमा पनि पर्वतारोहणमा सक्रिय रहनुभएका पर्वतारोही तामाङले सात पटक सगरमाथा आरोहण गरिसक्नुभएको । आरोही पाण्डेले यसअघि आरोही तामाङसँगै रुसमा रहेको सर्वोच्च युरोपेली हिमाल माउन्ट एलब्रुस चढ्नु भएका पाण्डेले तान्जानियामा रहेको अफ्रिकी महादेशको उच्च हिमशिखर किलिमन्जारोको पनि सफल आरोहण गरिसक्नुभएको छ । उहाँले स्वदेशमै रहेको किलर माउन्टेन भनिने मनास्लु हिमाल र टेक्निकल मानिएको आमादब्लम हिमालको पनि सफल आरोहण गरिसक्नुभएको छ ।
Advertisement
उचाइ धेरै नभए पनि यो आरोहण निकै चुनौतीपूर्ण रहेको आरोही पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो “उचाइ धेरै होइन तर आरोहण निकै चुनौतीपूर्ण रह्यो । छिटो छिटो परिवर्तन भइरहने मौसमका कारण यो आरोहण सगरमाथा चढे जतिकै कठिन भयो ।”
पाण्डेले मकालु आउट फिटको ब्रान्डमा हिमाल आरोहण गर्दै आउनुभएको छ । संसारमै विशेष झन्डाको रूपमा रहेको त्रिकोणकार नेपाली झन्डा सहित आफू संलग्न युवा अभियान नेपाल स्काउट र रोटरी इन्टरनेशनल समेतका सामाजिक संस्थाहरूको झन्डा पनि ती संस्थाहरूको प्रतिनिधित्व गर्दै आफूले फहराउन पाउँदा खुसी लागेको उहाँले बताउनुभयो ।
हिमाल आरोहण अभियानकै क्रममा जलवायु परिवर्तनको मुद्दा पनि उठाउने बताउनुभएका पाण्डेले सो सम्बन्धमा स्थानीय सरोकारवालाहरूसँग अन्तरक्रिया पनि गरेको बताउनुभयो । जलवायु परिवर्तनका कारणले नेपाल सहित जैविक विविधता युक्त तथा विशिष्ट भौगोलिक अवस्थिति भएका मुलुकले अनपेक्षित क्षति र समस्याहरू व्यहोर्नु परिरहेको उहाँले बताउनुभयो ।
Advertisement
सेभेन समिट अभियानमा अब उत्तर अमेरिकी महादेशको हिमाल आरोहण गर्ने लक्ष्य रहेको पाण्डेले बताउनुभयो । सन् २०१८ मा पहिलो पटक सगरमाथा चढ्नुभएका पाण्डेको क्रमशः अन्य महादेश तथा क्षेत्रका हिमालहरू आरोहण गर्दै नेपालमै आएर सगरमाथामा सेभेन समिट अभियानको समापन गर्ने योजना छ ।
पाण्डे पर्वतारोहणका अतिरिक्त अन्तर्राष्ट्रिय युवा अभियान स्काउट र रोटरी इन्टरनेशनलमा समेत आबद्ध हुनुहुन्छ । स्काउटका संस्थापकको नाउँमा नामाकरण गरिएको नेपालमा रहेको हिमाल बेडेन पावेल स्काउट पिक पनि पाण्डेले दुई पटक आरोहण गरिसक्नु भएको छ । उहाँको अभियानमा मकालु आउटफिटले आवश्यक माउन्टेनियरिंग गियरहरू उपलब्ध गराएको थियो ।
प्रतिक्रिया