पहिरो पीडित थामी समुदायले अझै पाएनन् आवास, भन्छन् राज्यसँग आस मरिसक्यो

रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवा पाखा टोलकी सेती थामीको परिवारलाई गत भदौ ८ गते रातिको अविरल वर्षाले घर विहीन बनायो ।

वर्षाले घर त भत्किएन तर पुरै बस्ती नै पहिरोको जोखिममा परेपछि उहाँ सहित सिङ्गो पाखा टोल बस्ती नै खाली गर्नुप¥यो । बस्ती नै पहिरोको उच्च जोखिममा परेपछि सेती थामी सहित पाखा टोल र सल्लेटारका २० घरपरिवार जङ्गल तथा सडकमा पाल टाँगेर दिन रात कटाउन बाध्य बने ।

Advertisement

बस्ती नै बग्ने जोखिम भएपछि दोरम्बा  शैलुङ गाउँपालिका–१ डडुवा पाखा टोल, सल्लेटारका २० घरपरिवार र दलेचौरको चार घर परिवारले पालमुनि वर्षा कटाए ।
यहाँका पहिरो पीडित थामी समुदायले दसैँ र तिहार पनि पालमुनि नै मनाए । तर लामो समयसम्म पनि अस्थायी आवास बन्ने छाँटकाट नदेखेपछि यहाँका पहिरो पीडित थामी समुदाय तिहारपछिबाट जोखिमयुक्त घरमै बसेका छन् ।

जाडो याम सुरु भएपछि पालमा बस्दा बालबालिका र वृद्ध वृद्धा बिरामी पर्न थालेपछि जाडो छल्न जोखिमयुक्त घरमै बस्नुपरेको पाखा टोलकी सेती थामीले बताउनुभयो । उहाँले भन्नुभयो “हाम्रो घर सग्लै छन् । भत्किएको छैन । तर पुरै बस्तीको तल र माथिबाट बगेको छ । पानी परेको बेला जुनसुकै बेला पुरै बस्ती बग्न सक्छ भन्ने डरले तिहारसम्म पालमै बस्यौँ । अहिले जाडोका कारण घरमै बसेका छौँ ।”

Advertisement

अस्थायी रूपमा बस्ने ठाउँका लागि वडा, गाउँपालिका, जिल्ला प्रशासन लगायतका ठाउँमा जति भने पनि केही नलागेको उहाँको गुनासो छ ।
पहिरोले उठिबास लगाएपछि दुई महिनासम्म पालमुनिको बसाई हुँदा पनि अस्थायी आवासको व्यवस्था नभएपछि गएको तिहारपछिबाट जोखिमयुक्त घरमै फर्किएको दलेचौरका पदम थामीले बताउनुभयो ।

उहाँले भन्नुभयो “पुरै बस्ती नै पहिरोको जोखिममा भएपछि दुई महिना जङ्गल र सडकमा पाल टाँगेर बस्यौँ । तर यो समयमा अस्थायी बासको पनि व्यवस्था हुन सकेन । चिसो बढ्न थालेपछि अहिले सबै पीडित जोखिम युक्त घरमै बसेका छन् ।” अस्थायी रूपमा बस्ने ठाउँकै व्यवस्थापन गर्न नसक्ने राज्यसँग अरू सुरक्षित ठाउँ र स्थायी घरको आस मरिसकेको उहाँको गुनासो छ ।

Advertisement

अस्थायी आवास निर्माणका लागि गणेश थान सामुदायिक वनमा पहिरो पीडित थामी समुदायले श्रमदान तथा ऋण गरेको बनाएको ठाउँमा पनि वनले आवास बनाउन नदिएको पाखा टोलका मङ्गले थामीले बताउनुभयो । वर्षा समयको तीन महिना बस्नका लागि ठाउँ माग गर्दा पनि आफैले संरक्षण गरेर जोगाएको वनले बस्न नदिएको वडा सदस्य समेत रहनुभएका थामीको गुनासो छ ।

उहाँले भन्नुभयो“पहिरो पीडित सीमान्तकृत थामी समुदायको पीडामा सरोकारवाला निकाय गम्भीर बनेनन् । श्रमदान सहित दुई लाख रुपैयाँ ऋण गरेर बनाएको ठाउँमा पनि सामुदायिक वनले अस्थायी आवास बनाउन दिएन । आफ्नो जग्गामा बनाउने ठाउँ छैन । पुरै बस्ती नै बग्ने अवस्थामा छ ।”
अस्थायी आवास निर्माणका लागि विभिन्न संघ संस्थाको सहयोगमा १२ लाख भन्दा बढीको १३४ बन्डल जस्तापाता ल्याइएको र काठहरू समेत तयार भइसक्दा पनि ठाउँ अभावले बनाउन नसकिएको उहाँको गुनासो छ ।
अहिले राज्यसँग आशा मरिसकेकाले २४ घर परिवार मिलेर ऋण गरेर भए पनि सुरक्षित ठाउँमा जग्गा किनेर बस्ती बसाल्ने सल्लाह भएको उहाँको भनाइ छ ।
तीन सय अस्थायी आवास माग, ३२ वटा बन्यो
गत भदौ ८ गते राति र असोज ११ र १२ गतेको वर्षाका कारण दोरम्बा शैलुङ गाउँपालिकामा धेरै मानिस घर विहीन बनेका छन् । भदौ ८ गते राति गएको पहिरोका कारण दोरम्बा शैलुङ गाउँपालिका–३ टोरकपुर स्थित लेक खर्कमा १० जना पुरिएका थिए ।

पहिरोमा पुरिएका सात जनाको शव भेटियो । एक जनाको खुट्टाको पैतालाको भाग मात्रै फेला परेको थियो । दुई जना अझै बेपत्ता नै छन् । ६३ घर परिवार रहेको खर्क बस्ती पुरै पहिरोको उच्च जोखिममा रहेको छ ।

लेखर्कमा पहिरोको उच्च जोखिममा परेका मध्ये ३२ घर परिवारलाई गाउँपालिकाले अस्थायी आवास बनाएर राखेको छ । पालिका स्तरीय विपद् व्यवस्थापन समितिले वडा नं ३ स्थित छहरा बारी स्थित खेलकुद मैदानमा ३२ वटा अस्थायी आवास बनाएर पहिरो पीडितलाई राखेको गाउँपालिकाका सूचना अधिकारी भोला पाठकले बताउनुभयो ।

यो वर्ष बाढी पहिरोबाट विस्थापित भएका ३०० वटा भन्दा बढी अस्थायी आवास निर्माण गर्नुपर्ने माग आएकोमा लेखर्कका ३२ परिवारलाई दसैँ अघि नै अस्थायी आवास निर्माण गरी व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो “यो वर्षको बाढी पहिरोले दोरम्बा शैलुङ गाउँपालिकामा ठुलो क्षति गरेको छ । ३०० भन्दा बढी घर परिवारले अस्थायी आवास बनाउन निवेदन दिएका छन् । जसमध्ये लेखर्कका ३२ परिवारलाई अस्थायी आवासमा राखिएको छ । अन्य घर परिवारका लागि सर्वेक्षण गर्न विज्ञ टोली माग गरिएको छ ।”

लेखर्कका ३२ परिवारलाई विभिन्न निकायको सहयोगमा जस्ता पाता, काठ पात व्यवस्थापन गरी गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट ६ लाख रुपैयाँ खर्च गरेर अस्थायी आवास निर्माण गरिएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च