रामेछाप । अहिले गाउँ घरमा भित्रिएका आधुनिक यन्त्र, उपकरणले मानिसको जीवनलाई सुगम बनाएको छ । जसले गर्दा गाउँ घरका मानिसलाई पनि परम्परागत प्रविधि र सीप बिर्साउँदै लगेको छ ।
अहिलेको आधुनिक प्रविधिको यन्त्र उपकरणका कारण कुनै समय गाउँ घरको अभिन्न अङ्ग रहेको आरन पेसा सङ्कटमा परेको छ ।
अहिले गाउँ घरमा पनि मुस्किलले केही मात्रामा आधुनिक यन्त्र तथा उपकरणहरु प्रयोग गरी आरन पेसा अपनाइरहेका भेटिन्छन् ।
Advertisement
तर यसरी आरन पेसामा रहेका हरूलाई पनि आरन पेसाबाट मात्रै घर परिवार चलाउन मुस्किल भएपछि पेसाबाटै विस्थापित हुने दर बढ्दो मात्रामा छ ।
तर रामेछापको मन्थली नगरपालिका–९ पुरानागाउँ बाहुनचुराका छविलाल विश्वकर्मा भने विगत पाँच दशकदेखि आरन पेसामा हुनुहुन्छ ।
उमेरले ६५ वर्ष कटिसक्नुभएको छविलाले विशेष गरी विवाह–व्रतबन्ध तथा अन्य शुभ कार्यमा बजाइने पञ्चेबाजाका सामाग्रीहरू बनाउनुहुन्छ । पञ्चेबाजा बनाउने तालिम लिएर आफूले पञ्चेबाजा अन्तरगतका बाजाहरू उत्पादन गरिरहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो“पञ्चेबाजा अन्तर्गतका कर्नाल, सनाई , दमाहा, नर्सिङ जस्ता सामाग्रीहरू बनाउँछु । तर उत्पादन भएका सामाग्रीहरू बिक्री नहुने समस्या छ । उत्पादन गर्न कुनै समस्या छैन । तर पञ्चेबाजाको खासै माग आउँदैन ।” छविलालले तामाको कर्नाल १५ हजार रुपैयाँ र पित्तलको कर्नाल ११ हजारमा रुपैयाँमा बिक्री गर्नहुन्छ । तर आफूले उत्पादन गरेको सामाग्रीहरू सोचे जस्तो बिक्री नभएको उहाँको गुनासो छ । उत्पादन गरेको सामाग्री बिक्री नभएकै कारण बजारमा चलेको भन्दा सस्तो भाउमा बेच्न बाध्य भएको उहाँले बताउनुभयो ।
Advertisement
पञ्चेबाजा बनाउने तालिम पश्चात् सामाग्रीहरू उत्पादन गरिए पनि पर्याप्त रूपमा बिक्री नभएको उहाँले बताउनुभयो । आरन पेसामा परम्परागत प्रविधिलाई छाड्दै बिस्तारै आधुकिक प्रविधि अँगाल्दै लगिएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो “पुरानै शैलीमा आरन पेसा चलाउन मुस्किल छ । पुरानो शैलीमा एक जनाले मात्रै यो पेसा चलाउन सकिन्न । ठुला ठुला घन हानेर फलाम पिट्नुपर्छ । यस्तो काम गर्न गारो भएका कारण बिस्तारै आरन पेसामा पनि नयाँ प्रविधि अपनाउँदै लगिएको छ ।” धेरै पैसा कमाउन नसकिए पनि आरन पेसाबाट जेनतेन व्यवहार चलेको उहाँले बताउनुभयो । यो पेसाबाट दुःखले वर्षमा २÷३ लाख रुपैयाँ बचाउन सकिने उहाँले बताउनुभयो ।
गाउँ घरमा सङ्कटमा रहेको आरन पेसालाई प्रविधिमैत्री र व्यावसायिक बनाउनका लागि मन्थली नगरपालिकाले समय समयमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठ बताउनुहुन्छ । उहाँले भन्नुभयो “कुनै समयको गाउँ घरको अभिन्न अङ्ग जस्तै रहेको आरन पेसा अहिले सङ्कटमा छ । यसलाई संरक्षण सहित प्रविधिमैत्री र व्यावसायिक बनाउन आवश्यक छ । यो कुरामा नगरपालिका लागि परेको छ ।”
Advertisement
प्रतिक्रिया