रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुर स्थित लेखर्क पहिरोमा ज्यान गुमाएकाको परिवारले अझै राज्यबाट राहत रकम पाउन सकेका छैनन् ।
गत भदौ ९ गते बिहान अविरल वर्षासँगैको पहिरोमा लेखर्कका १० जना पुरिएका थिए । पुरिएका मध्ये ७ जनाको शव निकालिएको थियो भने एक जनाको खुट्टाको पाइताला मात्रै भेटिएको थियो । दुई जना अझै बेपत्ता छन् ।
Advertisement
लेखर्क पहिरोमा परि ज्यान गुमाएका दुई जनाको परिवारले संघ र प्रदेश तथा तीन जनाको परिवारले प्रदेशबाट पाउनुपर्ने राहत रकम अहिलेसम्म नपाएको दोरम्बा शैलुङ गाउँपालिका–३ का वडा अध्यक्ष सन्तलाल थापा मगरले बताउनुभयो ।
हकवाला पहिचानमा समस्या हुँदा पहिरोमा ज्यान गुमाएका ५७ वर्षीय उर्मिला पहरी, ११ वर्षका विज्ञान पहरीले संघ र प्रदेशबाट प्राप्त हुने राहत रकम पाउन नसकेको उहाँले बताउनुभयो । अहिलेसम्म बेपत्ता रहेका ५५ वर्षका काले पहरी, ५० वर्षकी झ्याउँकिरी पहरी र खुट्टाको पाइताला मात्रै भेटिएकी २३ वर्षकी बिन्दा पहरीको परिवारले प्रदेशको राहत रकम पाउन नसकेको उहाँले बताउनुभयो ।
Advertisement
उहाँले भन्नुभयो “पहिरोमा परी मृत्यु भएका उर्मिला पहरी र विज्ञान पहरीको हकवाला पहिचानमा ढिला भयो । जसले गर्दा उनीहरूको परिवारले अहिलेसम्म राहत रकम पाउन सकेका छैनन् । अहिले हकवाला पहिचान भई आवश्यक प्रक्रिया पुरा अवस्थामा छ । अब चाडै राहत रकम प्राप्त हुन्छ होला ।”
बेपत्ता दुई जना र खुट्टाको पाइताला मात्रै फेला परेका एक जनाको परिवारले प्रदेशबाट पाउने राहत रकमका लागि पहल भइरहेको उहाँले बताउनुभयो । सङ्घीय सरकारको विपद् पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड २०७७ अनुसार विपद् जन्य घटनामा परी कुनै पनि परिवारको एक जनाको मृत्यु भएमा दुई लाख रुपैयाँ सङ्घीय सरकारको तर्फबाट राहत रकम पाउँछन् । त्यसै गरी एउटै परिवारको एक भन्दा बढीको मृत्यु भएमा प्रति मृतक एक लाख रुपैयाँ राहत रकम थप हुँदै जाने व्यवस्था छ । यस्ता मृतकका परिवारले प्रदेश सरकारबाट प्रति व्यक्ति एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । तर बेपत्ता भएकाको हकमा तीन महिनापछि मात्रै राहत रकम पाउने प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि, २०८० मा उल्लेख छ ।
Advertisement
सोही मापदण्ड अनुसार पहिरोमा परी ज्यान गुमाएकी ७५ बर्सिया पुड्की पहरीको परिवारले सङ्घीय कोषबाट दुई लाख र प्रदेश कोषबाट एक लाख गरी तीन लाख रुपैयाँ राहत रकम गत असोज मै पाइसकेका छन् । त्यसै गरी ३० वर्षका सन्दीप पहरी र ११ वर्षका सन्तोष पहरीको परिवारले सङ्घीय कोषबाट तीन लाख र प्रदेश कोषबाट दुई लाख गरी पाँच लाख रुपैयाँ, ३२ वर्षकी चण्डिका थापा मगर र १८ महिनाका आयुश श्रेष्ठको परिवारले सङ्घीय कोषबाट तीन लाख र प्रदेश कोषबाट दुई लाख गरी पाँच लाख रुपैयाँ राहत रकम पाइसकेका छन् ।
पहिरोमा ज्यान गुमाएका उर्मिला पहरी र विज्ञान पहरीको हकदार किटानीमा समस्या हुँदा अहिलेसम्म राहत रकम दिन नसकिएको रामेछापका प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो “संघको राहत रकम पाउनुपर्ने दुई जनाको हकदार किटानीमा समस्या भएछ पहिला । हकदार किटानीमा कहिले बुहारी, कहिले छोरा र कहिले श्रीमान् भन्ने हुँदा समस्या भयो । अहिले श्रीमान् हकदार किटानी भइसकेको भन्ने वडाबाट अनौपचारिक जनाकारी आएको छ । आवश्यक प्रक्रिया पुरा भएपछि राहत रक दिन कुनै समस्या छैन ।”
प्रदेशको हकमा दोरम्बा शैलुङ गाउँपालिका–३ पहिरोमा परी र असोज १२ गतेको वर्षापछि घर भत्किएर मृत्यु भएका एक जनाको परिवारलाई पनि राहत रकम प्रदान गर्नका लागि आवश्यक पहल भइरहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया