रामेछाप । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत मङ्सिर १४ गते रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा फोर्स गाडी दुर्घटनामा ज्यान गुमाएका परिवारलाई बिमा बापत प्राप्त रकम हस्तान्तरण गरेको छ ।
कम्पनीले बिहीबार जिल्ला प्रशासन कार्यालय रामेछापमा एक कार्यक्रम गरी प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेल र जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदीपकुमार सिंहको रोहबरमा प्रति मृतक पाँच लाख रुपैयाँका दरले २५ लाख रुपैयाँ बिमा रकम हस्तान्तरण गरेको हो ।
Advertisement
गत मङ्सिर १४ गते काठमाडौँबाट गोकुलगंगा गाउँपालिका वडा नं ४ बेताली जाँदै गरेको ना १ ज ७१२३ नम्बरको फोर्स गाडी अनियन्त्रित भई सोही वडाको सिमल डाँडा भिरमा दुर्घटना हुँदा गोकुलगंगा–४ का वडा अध्यक्ष ४५ वर्षका रामचन्द्र बस्नेत सहित पाँच जनाको घटना स्थलमै मृत्यु भएको थियो ।
सो दुर्घटनामा गाडी चालक मन्थली नगरपालिका–९ पुरानागाउँका वर्ष ३५ का हिराबहादुर कार्की, गोकुलगंगा गाउँपालिका– ५ की ३० बर्सिया कविता कार्की खड्का, उहाँकी छोरी वर्ष ७ की स्वस्तिका खड्का र सविना विश्वकर्माको ज्यान गएको थियो ।
उक्त दुर्घटनामा परी अन्य तीन जना घाइते भएका थिए । प्रति मृतक पाँच लाख रुपैयाँका दरले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका मार्केटिङ डी.जी.एम कविराज पौडेल र क्लेम डीपार्ट हेड सुवास दीक्षितले मृतकका परिवारलाई चेक हस्तान्तरण गर्नुभएको कम्पनीका मन्थली शाखा प्रमुख हेमन्त पौडेलले जानकारी दिनुभयो ।
Advertisement
दुर्घटना भएको गाडी र दुर्घटनामा घाइते भएका तीन जनाको हालसम्म आवश्यक कागजात कम्पनीलाई प्राप्त हुन नसक्दा घाइते र गाडीको बिमा भुक्तानी दिन नसकिएको उहाँले बताउनुभयो । दुर्घटना भएको गाडी र घाइतेहरूको आवश्यक कागजात प्राप्त भएमा तत्कालै प्रक्रिया अगाडी बढाएर भुक्तानी दिन कम्पनी तयार रहेको उहाँले बताउनुभयो ।
Advertisement
प्रतिक्रिया