स्थानीय कृषकको जीविका धान्ने प्रमुख थलो रामेछापको बिहीबारे हाट

रामेछाप । रामेछापको रामेछाप नगरपालिका–९ का मानबहादुर श्रेष्ठको गाउँनजिकै लाग्ने बिहीबारे हाट घर खर्च धान्ने मुख्य थलो हो ।

उमेरले ६५ वर्ष काट्नुभएका श्रेष्ठले यही हाटमा आफ्नो बारीमा उत्पादन भएका तरकारीजन्य वस्तु बेच्न थाल्नुभएको दुई दशक पुग्न लाग्यो । उहाँको परिवार चलाउने मुख्य आम्दानी गर्ने थलो यही बिहीबारे हाट बनेको छ ।

Advertisement

यही हाटको आम्दानीले पाँच सन्तानको लालन पालन सहित शिक्षा धानेको श्रेष्ठ बताउनुहुन्छ । उहाँले भन्नुभयो“अरू जागिर खान सकिएन । अन्त कतै कमाउन पनि जान सकिएन । आफ्नै ठाउँमा पनि अरू केही गर्न सकिएन । आफ्नै बारीमा उत्पादन भएको तरकारी, फलफूल, दलहन लगायतका उत्पादन बिहीबारे हाटमा बिक्री गर्छु । यसबाट बचेको पैसाले परिवार चलेको छ ।”

झन्डै २० वर्षदेखि निरन्तर छिमेकी वडा रामेछाप नगरपालिका–८ मा लाग्ने बिहीबारे हाटमा तरकारी, फलफूल, दलहन लगायतका उत्पादन बिक्री गरिरहेको उहाँले बताउनुभयो । यही हाटमा तरकारी, फलफूल, दलहन लगायतका उत्पादन बिक्री गरेर भएको आम्दानीले पाँच सन्तानको लालन पालन सहित शिक्षा धानेको उहाँले बताउनुभयो ।

Advertisement

रामेछाप नगरपालिका–९ ल्याङल्याङ भिरपानीकी कमला श्रेष्ठको पनि घर चलाउने खर्च जोहो गर्ने थलो यही बिहीबारे हाट हो । कमला पनि हरेक हप्ताको बिहीबार लाग्ने हाटमा तरकारी जन्य उत्पादन र दलहनजन्य वस्तु बिक्री गर्नुहुन्छ । उहाँको व्यवसाय भने पनि जागिर भने पनि यही हाट हो । एउटा हाटमा ७ हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्मको कृषि उत्पादन बिक्री हुने गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो“मेरो त जागिर भने पनि, व्यवसाय भने पनि यही बिहीबारे हाट हो । १८ वर्षदेखि यही हाटमा गाउँको उत्पादन बिक्री गरिरहेको छु । व्यापार पनि ठिकै हुन्छ । कम भएको बेला पनि एउटा हाटबाट ८ हजारसम्मको बिक्री हुन्छ । राम्रो हुँदा एउटै हाटबाट २० हजार रुपैयाँ सम्म बिक्री गर्छु । अहिलेसम्म परिवार चलाउने खर्च धान्ने आम्दानीको प्रमुख थलो यही हाट नै हो ।”

Advertisement

आफूले उत्पादन गरेको मात्रै नभई गाउँका छिमेकीका दलहन र तरकारी जन्य वस्तु ल्याएर बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।
रामेछाप नगरपालिका–८ मा लाग्ने बिहीबारे हाट मानबहादुर र कमला श्रेष्ठ जस्ता धेरै किसानको गाउँघरमा उत्पादन हुने कृषि जन्यदेखि अन्य वस्तुको व्यापार गर्ने मुख्य थलो बनेको छ । यो हाट भएकै कारण गाउँघरमा उत्पादित वस्तुले बजार पाएको छ । धेरैको घर यही बिहीबारे हाटबाट चलेको छ । रामेछाप र मन्थली नगरपालिकाको किसानका बारीका कृषि उपज सहित खसी बोका यो हाटमा बिक्री हुन्छ ।

रामेछाप नगरपालिकामा लाग्ने बिहीबारे हाट बषौँ देखि धेरैको जीविका धान्ने र परिवार चलाउने मुख्य थलो भएकाले यसको व्यवस्थापनमा स्थानीय सरकार लागेको रामेछाप नगरपालिका प्रमुख लव श्री न्यौपाने बताउनुहुन्छ । उहाँले भन्नुभयो “रामेछाप नगरपालिका–८ मा लाग्ने बिहीबारे हाट किसान र उपभोक्तालाई प्रत्यक्ष जोड्ने प्रमुख थलो हो । यही हाटबाट धेरैको जीविका धानिएको छ । धेरैको परिवार चलेको छ । यो हाटको व्यवस्थापनका लागि नगरपालिकाले डिपिआर तयार गरी सहरी विकास मन्त्रालयमा पठाइसकेको छ ।”
लघु उद्यम, किसानदेखि प्रत्यक्ष उपभोक्ता जोडने यस्ता हाटबजार व्यवस्थापन र संरक्षण गरी जसको उत्पादन उसकै मूल्य निर्धारणमा सहजता बनाउने गरी स्थानीय सरकारले काम गर्ने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च