डिभिजन वन रामेछाप प्रति स्थानीय सरकार असन्तुष्ट, समन्वय नगरेकोदेखि अख्तियार जानेसम्म चेतावनी

रामेछाप । रामेछापका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूले वन डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालय रामेछाप कुनै समन्वय नगरेको गुनासो गरेका छन् ।

डिभिजन वन कार्यालय रामेछापले मङ्गलवार सदरमुकाम मन्थलीमा आयोजना गरेको वन डढेलो समन्वय तथा अन्तरक्रिया कार्यक्रममा सहभागी भएका नगरपालिका तथा गाउँपालिका प्रमुख उपप्रमुखहरूले यस्तो गुनासो गरेका हुन् ।

Advertisement

कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले गत वर्ष वन डढेलोको घटनाबाट धेरै वन क्षति बेहोरेको मन्थली नगरपालिकामा यो वर्ष हुन सक्ने वन डढेलोको घटना नियन्त्रणका लागि डिभिजन तथा सब डिभिजन वन कार्यालयले कुनै समन्वय तथा सहकार्य नगरेको बताउनुभयो ।

उहाँले भन्नुभयो “व्यक्तिको बारीको एउटा खयरको रुख काट्न डिभिजन वनसँग अनुमति लिनुपर्छ । तर डिभिजन तथा सब डिभिजन वन कार्यालयबाट सञ्चालन हुने कार्यक्रम स्थानीय सरकारलाई जानकारी हुँदैन । अधिकार खोज्ने निकायले आफ्नो कर्तव्य चाही पुरा गर्नु पर्छ कि पर्दैन ।”
डिभिजन वन कार्यालय रामेछाप वन डढेलो नियन्त्रण सम्बन्धी कार्यविधि २०८१ बनाउँदा नगरसँग कुनै समन्वय नगरेको उहाँको गुनासो छ । मन्थली नगरपालिकाले वन डढेलो नियन्त्रणका लागि सकेको तयारी गरिरहेको र डिभिजन वनलाई पनि आवश्यक सहयोग गर्न तयार रहेको उहाँको भनाइ छ ।
दोरम्बा शैलुङ गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तानले आफ्नो पालिकामा डिभिजन वन कार्यालय तथा सब डिभिजन वन कार्यालयको कुनै भूमिका नदेखिएको बताउनुभयो । डिभिजन वन कार्यालयले लुकी लुकी आफ्नो गतिविधिहरू सञ्चालन गरिरहेको उहाँको गुनासो छ । उहाँले भन्नुभयो “डिभिजन वन कार्यालयले आफ्नो कार्यक्रमहरू स्थानीय तहमै कार्यान्वयन गर्ने हो । तर हामी स्थानीय सरकार प्रमुखलाई नै वनको कार्यक्रम बारे कुनै जानकारी हुँदैन । यस्तो अवस्था वनले स्थानीय सरकारसँग समन्वय गर्नु पर्छ कि पर्दैन ? । कि डिभिजन वन कार्यालय छुट्टै राज्यबाट आएको हो ।”

Advertisement

वन डढेलो नियन्त्रण सम्बन्धी विषयमा डिभिजन वनले कुनै पनि समन्वय तथा सहकार्य नगरेको उहाँको गुनासो छ । डिभिजन वन कार्यालयले मनलाग्दी गरिरहेकाले यो कार्यालयको विरुद्धमा गाउँपालिका अख्तियार जाने समेत उहाँले चेतावनी दिनुभयो ।

लिखुतामाकोशी गाउँपालिका अध्यक्ष केशव महतले पनि डिभिजन तथा सब डिभिजन वन कार्यालयहरू सहित वन उपभोक्ता महासङ्घहरूले समेत स्थानीय सरकारलाई बेवास्ता गरेको बताउनुभयो । वन डढेलो नियन्त्रणका लागि आवश्यक योजना निर्माण सहित कार्यान्वयन गर्ने प्रमुख निकाय कै स्थानीय सरकारसँग कुनै समन्वय तथा सहकार्य नहुनु दुःखद कुरा भएको उहाँको गुनासो छ ।

Advertisement

रामेछाप नगरपालिकाकी उपप्रमुख बालकुमारी कार्कीले वन डढेलो नियन्त्रणका लागि बनाइने कार्य योजना कार्यान्वयन गर्न सबै पक्षलाई थाहा हुनुपर्ने बताउनुभयो । अहिले ड्राफ्टका रूपमा तयार भएको यो कार्य योजनालाई छलफलबाट आएका सुझाव समेत समेटेर पूर्णता दिई सबै पक्ष कार्यान्वयनमा लाग्नुपर्नेमा उहाँको जोड छ ।

खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष रमा घिसिङ र उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवारले पनि डिभिजन वन कार्यालय रामेछाप र सब डिभिजन वन कार्यालयहरूको कार्यक्रम तथा योजना बारे जानकारी नहुँदा डढेलो नियन्त्रणमा समस्या झेल्नु परेको गुनासो गर्नुभयो । डढेलो लगाउनु सामाजिक अपराध हो भने नियन्त्रण गर्नु सामाजिक दायित्व भएकाले यो वर्ष वन डढेलोका घटना हुन नदिन सबै सरोकारवाला निकाय एक भएर लाग्नुपर्नेमा उहाँहरूको जोड छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक राजु प्रसाद पौडेलले यो वर्ष वन डढेलोका घटनामा संलग्नलाई कडाइका साथ कानुनी दायरामा ल्याइने बताउनुभयो । उहाँले गत वर्ष रामेछापले वन डढेलोका धेरै घटना भोग्नु परेकाले यसलाई ध्यानमा राखेर जिल्ला स्थित प्रमुख सरोकारवाला निकायको संलग्नतामा वन डढेलो नियन्त्रण सम्बन्धी कार्य योजना २०८१ को ड्राफ्ट तयार पारिएको बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा सहभागी स्थानीय सरकार प्रमुख, उपप्रमुख तथा सरोकारवाला निकायको सुझावलाई समेटेर वन डढेलो नियन्त्रण सम्बन्धी कार्य योजना २०८१ लाई पूर्णता दिई कडाइका साथ कार्यान्वयनमा ल्याइने उहाँले बताउनुभयो ।
यो वर्ष जनचेतना, वन डढेलो नियन्त्रण र वन डढेलोका घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउने जस्ता तीन वटा विषयलाई प्राथमिकतामा राखेर जिल्लामा वन डढेलो नियन्त्रणका लागि काम गरिने उहाँको भनाइ छ । कार्यक्रममा डिभिजन वन कार्यालय रामेछापका प्रमुख उमाशङ्कर जसवालले वन डढेलो नियन्त्रण सम्बन्धी कार्य योजना २०८१ को ड्राफ्ट प्रस्तुत गर्नुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च