रामेछाप । रामेछापको मन्थली नगरपालिकामा सञ्चालित “प्र.अ. वि.व्य.स. र शिक्षक अभिभावक संघका अध्यक्षका लागि प्रारम्भिक बाल विकास सम्बन्धी एक दिने अभिमुखीकरण” कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमले बाल विकास केन्द्रहरूको सञ्चालन तथा व्यवस्थापनका लागि साझा धारणा र बुझाइको विकास गराउन महत्त्वपूर्ण सहयोग पु¥याएको सहभागीहरूले बताएका छन् ।
ECD Harmony परियोजना” अन्तर्गत चाइल्ड एड नेटवर्क फाउण्डेशनको सहयोगमा मन्थली नगरपालिकासँगको सहकार्यमा सेता गुराँस राष्ट्रिय बालविकास सेवाले मङ्गलवार मन्थलीमा आयोजना गरेको एक दिने अभिमुखीकरण कार्यक्रममा सहभागीहरुले यस्तो प्रतिक्रिया दिएका हुन ।
मन्थली नगरपालिका वडा नं. ४ स्थित सिद्धेश्वर माध्यमिक विद्यालय गैरा थोकका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुक्रबहादुर श्रेष्ठले यस कार्यक्रमले बाल विकास केन्द्रको सञ्चालन तथा व्यवस्थापनमा शिक्षक, अभिभावक र व्यवस्थापन पक्षबिचको साझा बुझाईको विकास गर्न सहयोग पुगेको बताउनुभयो । कार्यक्रमले आफूहरूको जिम्मेवारी र भूमिकाबारेमा पनि बोध गराएको उहाँको भनाई छ ।
Advertisement
केन्द्र व्यवस्थापनको लागि आर्थिक सङ्कलन गर्ने दायित्व आफूहरूको रहेको बताउँदै वि.व्य.स. अध्यक्ष श्रेष्ठले आगामी दिनमा पनि यस्ता कार्यक्रम विद्यालय, अभिभावक र समुदायसँग जोड्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । सोही विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष अनन्त पुलामीले पनि केन्द्रको उचित व्यवस्थापन बिना बालबालिकाको चौतर्फी विकास हुन नसक्ने रहेछ भन्ने कुरा कार्यक्रमबाट थाहा भएको बताउँदै आगामी दिनमा केन्द्र व्यवस्थापनको लागि साझा बुझाई र प्रतिबद्धतासहित अघि बढ्ने बताउनुभयो ।
सोही विद्यालयका प्र.अ. गणेश श्रेष्ठले कार्यक्रमबाट धेरै कुराको आफूले जानकारी लिन पाएको बताउँदै आगामी दिनमा इसिडीको पाठ्यक्रम पूर्णतया कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले केन्द्र व्यवस्थापन र सञ्चालनका निमित्त अभिभावसँग छलफल गर्नुको साथै प्रत्येक दिन केन्द्रको अनुगमन तथा मूल्याङ्कन गर्ने बताउनु भएको थियो ।
यस्तै, सेतीदेवी आधारभूत विद्यालय तीन चोकेका शिक्षक अभिभावक संघका अध्यक्ष गजेन्द्र आलेमगरले पनि साझा प्रयासबाट मात्रै बाल विकास केन्द्रको व्यवस्थापन गर्न सकिने रहेछ भन्ने कुरा कार्यक्रमबाट थाहा पाएको उल्लेख गर्दै आगामी दिनमा सोहीअनुसार केन्द्र व्यवस्थापनको लागि पहल गर्ने बताउनुभयो । सोही विद्यालयका प्र.अ. रेजिन्द्र दंगालले भने यो कार्यक्रमबाट प्रारम्भिक बाल विकास केन्द्रमा बालबालिकाको क्रियाकलाप सञ्चालनका लागि आवश्यक सामाग्री पहिचान गर्नेबारे जानकारी पाएको बताउनुभयो ।
Advertisement
कार्यक्रममा प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, अभिभावक संघका अध्यक्षसहित प्रत्येक विद्यालयबाट तीन÷तीन जनाको सहभागिता रहेको थियो । नीतिगत व्यवस्था, पाठ्यक्रम, प्रारम्भिक बाल विकासको अवधारणा, बाल विकास केन्द्र सञ्चालनका न्यूनतम मापदण्ड र बालमैत्री सिकाइ लगायतका विषयमा अभिमुखीकरण गरिएको थियो । प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन तथा व्यवस्थापनका सन्दर्भमा बनेका नीतिगत व्यवस्था, पाठ्यक्रम, प्रारम्भिक बाल विकासको अवधारणाबारे जानकारी गराउँदै केन्द्र व्यवस्थापन तथा सञ्चालनमा शिक्षक, अभिभावक र व्यवस्थापकीयसहित त्रिपक्षीय बुझाइमा एकरुपता ल्याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा संस्थाको जिल्ला परियोजना रामेछापकी संयोजक मैयाँ बस्नेतले जानकारी दिनुभयो ।
हालसम्म मन्थली नगरपालिकाभित्रका ३१ वटा विद्यालयका प्र.अ., वि.व्य.स. र अभिभावक संघका अध्यक्षसहित प्रत्येक विद्यालयका तीन÷तीन जना गरी ९३ जनालाई प्रारम्भिक बाल विकास सम्बन्धी १ दिने अभिमुखीकरण गरिएको बताउनुभयो । अन्य विद्यालयमा पनि क्रमशः गर्दै जाने उहाँको भनाई छ ।
प्रतिक्रिया