रामेछापमा बजार अनुगमनमा कडाइ गरिने, पेट्रोल पम्प, फार्मेसी र सिन्की धूपको बिक्री निगरानीमा

रामेछाप । उपभोक्ताको गुनासो बढेपछि रामेछापमा बजार अनुगमनमा कडाइ गरिने भएको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालय रामेछापमा बसेको जिल्ला बजार अनुगमन समितिको बैठकले बजार अनुगमन बारे आवश्यक छलफल पनि गरेको छ ।

रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला बजार अनुगमन समितिका संयोजक फणीन्द्र प्रसाद पौडेलको अध्यक्षतामा बसेको बैठकमा उपभोक्ताबाट आएका गुनासा, अहिलेसम्मको प्रगति र अबको योजना लगायतका बारेमा छलफल भएको छ ।

Advertisement

गुणस्तर तथा नाप तौल विभागको कार्यालय जनकपुरका सहायक निरीक्षक मनोज कुमार साहको समेत सहभागिता रहेको बैठकमा सहभागीहरूले नाप तौल विभागको कार्यालयले काम गर्न नसक्दा व्यवसायीहरूले ढक, तराजु दर्ता तथा नवीकरण गर्न समस्या भएको गुनासो गरेका छन् ।
जिल्ला उपभोक्ता मञ्च रामेछापका अध्यक्ष रामचन्द्र कँडेलले रामेछापमा लामो समयदेखि व्यवसायीहरूले ढक, तराजु दर्ता, चेक जाँच तथा नियमित नवीकरण नगरेको गुनासो गर्नुभयो ।

यसरी ढक, तराजु लगायत नाप तौलका सामाग्रीहरूको नियमित चेकजाँच अनि दर्ता नवीकरण हुन नसक्दा धेरै उपभोक्ताहरू मारमा रहेको उहाँले बताउनुभयो ।
मन्थली नगरपालिका कृषि विकास उपशाखाका सहायक कृषि अर्थ विज्ञ योवन कुमार सुनुवारले स्थानीय सरकारले पनि बजार अनुगमनको काम गरिरहेकाले सबैसँग आवश्यक समन्वय तथा सहकार्यमा अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

Advertisement

रामेछाप उद्योग वाणिज्य सङ्घका वाणिज्य उपाध्यक्ष सुदिस साहले गुणस्तर तथा नाप तौल विभाग हरेक वर्ष गर्दै आएको ढक, तराजु दर्ता तथा नवीकरण शिविर गत दुई वर्षभन्दा बढी समयदेखि रोक्दा रामेछापका व्यवसायी समस्यामा रहेको गुनासो गर्नुभयो ।

कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालय रामेछापका प्रमुख प्रमोद सिम्खडाले जिल्ला बजार अनुगमन समितिले यो वर्षको हालसम्म गरेका गतिविधिहरूका बारेमा जानकारी गराउनुभयो ।
चालु आर्थिक वर्षको हालसम्म सबैभन्दा बढी मन्थली नगरपालिकामा १० पटक, रामेछाप नगरपालिका, खाँडादेवी, गोकुलगंगा, उमाकुण्ड र लिखुतामाकोशी गाउँपालिकामा एक÷एक पटक बजार अनुगमन गरिएको उहाँले बताउनुभयो ।

Advertisement

यो अवधिमा २४० वटा व्यवसायमा अनुगमन गर्दा नियम विपरीत सञ्चालित व्यवसायहरूलाई ३० हजार ५०० रुपैयाँ जरिवाना गरिएको उहाँले बताउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला बजार अनुगमन समितिका संयोजक फणीन्द्र प्रसाद पौडेलले बजार अनुगमनसँग जोडिएका उपभोक्ताबाट गुनासो आइरहेकाले अनुगमनलाई प्रभावकारी बनाइने बताउनुभयो ।

उहाँले पेट्रोलियम पदार्थमा कृत्रिम अभाव, खाद्यान्नसँग जोडिएका कुराहरू, कृषि उपजमा अत्यधिक विषादीको प्रयोग, फार्मेसीहरूले नियम विपरितको औषधीको बिक्री वितरण गरिरहेको जस्ता गुनासो आएको उहाँले बताउनुभयो ।

कुलतका लागि बजारमा सिन्की धूपको बिक्री वितरण बढिरहेको, मासु पसल लगायतको पनि गुनासो बढेकाले यी सबै कुरालाई ध्यानमा राखेर जिल्ला बजार अनुगमन समितिले काम गर्ने उहाँको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च