रामेछाप । नेकपा एमाले रामेछाप नगर पालिका कमिटीले रामेछाप नगरपालिकालाई विभिन्न २५ बुँदे ध्यानाकर्षण–पत्र बुझाएको छ । आइतबार एमाले वाग्मती प्रदेश कमिटी सदस्य सिता खत्री, जिल्ला उपाध्यक्ष होतराज ढकाल लगायतको उपस्थितिमा नगर अध्यक्ष रोशन पाख्रिनले रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने र उपाध्यक्ष बाला कार्कीलाई ध्यानाकर्षण पत्र बुझाउनुभएको हो ।
ध्यानाकर्षण पत्रमा नेपाली कांग्रेसले दुई पटकसम्म नगरको नेतृत्व गर्दा पनि नगरको समृद्धिको काम अघि नबढेको, आर्थिक पारदर्शिता कायम नभएको लगायतका कुरा उल्लेख छन् ।
पत्रमा नगरपालिकामा निर्माणाधीन विभिन्न योजना अलपत्र भएकामा ध्यानाकर्षण गराइएको छ ।
Advertisement
एमालले बिहीबारे हाटबजार व्यवस्थित गर्न, पुष्पलाल पार्क र अधुरा रहेका स्वास्थ्य चौकीको निर्माण पुरा गरी सञ्चालनमा ल्याउन, सुकाजोरमा निर्माण भएको कबर्डहलको उचित व्यवस्थापन गर्न, रामेछाप नगरपालिका भित्र बसपार्कको निर्माण गर्न, नगरपालिकाले अघि सारेका मेघा विद्यालय लगायत शिक्षाका योजना कार्यान्वयन गर्न, योजनाको रकम दुरुपयोग गर्नेलाई कारबाहीको दायरामा ल्याउन, खानेपानी योजनाहरूको निर्माण गर्नका लागि सरकारी निकायमा समन्वय गर्न, सरकारी जग्गा दुरुपयोग रोक्न, आन्तरिक आय वृद्धि गर्न र कर छली रोक्न ध्यानाकर्षण गराएको छ ।
नगरपालिकामा रहेको भीमसेन थान मन्दिर, ढुकुरसिंह डाँडा, तारा खसे पोखरी, भालुखोप भ्यूटावर, गणेशटार मन्दिर, सोह्र भगवती मन्दिरलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न पनि एमालले ध्यानाकर्षण गराएको छ । ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख लबश्री न्यौपानेले ध्यानाकर्षण पत्रमा समावेश भएका कतिपय बुँदाहरू तत्कालै पुरा हुने खालका रहेका र केही योजनाहरूको बारेमा नगर कार्यपालिकाले आवश्यक छलफल गरी क्रमशः कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रतिक्रिया