एमएसएस मापनमा रामेछाप अस्पताल प्रदेशको दोस्रो बन्यो, चौतारा अस्पताल सिन्धुपाल्चोक पहिलो

रामेछाप । न्यूनतम सेवा मापदण्ड कार्यान्वयन मापन कार्यक्रम (एमएसएस) मा रामेछाप अस्पताल वाग्मती प्रदेश कै दोस्रो बनेको छ ।

प्रदेश भरीका ५० शय्याको अस्पताल मध्ये कुल ८९ अङ्क प्राप्त गर्दै रामेछाप अस्पताल न्यूनतम सेवा मापदण्ड कार्यान्वयन गर्ने दोस्रो उत्कृष्ट अस्पताल बनेको हो ।

Advertisement

वाग्मती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय हेटौँडाले फागुन १२ र १३ गते अस्पतालको न्यूनतम मापदण्ड कार्यान्वयनको अवस्थाबारे मापन गरेको हो ।

मङ्गलवार अस्पतालमा आयोजित अस्पतालको न्यूनतम सेवा मापदण्ड कार्यान्वयनको फलोअप तथा समीक्षा कार्यक्रममा न्यूनतम सेवा मापदण्ड कार्यान्वयन मापन समितिका सदस्य रत्ननगर अस्पताल चितवनका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन ज्ञवालीले अस्पतालले प्राप्त गरेको अङ्क सार्वजनिक गर्नुभयो ।

Advertisement

उहाँले न्यूनतम सेवा मापदण्ड कार्यान्वयन मापनमा चौतारा अस्पताल सिन्धुपाल्चोक ९३ अङ्क प्राप्त गदै प्रदेशमा पहिलो, ८९ अङ्क प्राप्त गरी रामेछाप अस्पताल दोस्रो, र ७२ अङ्क प्राप्त गर्दै पशुपति चौलागाइ स्मृति अस्पताल दोलखा तेस्रो भएको बताउनुभयो ।

गत वर्ष १५ शय्याको जिल्ला अस्पतालका रूपमा न्यूनतम सेवा मापदण्ड कार्यान्वयन मापन हुँदा यो अस्पतालले कुल ९१ अङ्क हासिल गरी देशभरमा रहेका तेस्रो उत्कृष्ट अस्पताल बन्न सफल भएको थियो ।

Advertisement

न्यूनतम सेवा मापदण्ड कार्यान्वयन मापन समितिका प्रमुख स्वास्थ्य निर्देशनालय हेटौँडाका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले आर्थिक वर्ष २०८०÷०८१ बाट ५० शय्याको अस्पताल बनेको रामेछाप अस्पताल छोटो समयमा नै न्यूनतम सेवा मापदण्ड कार्यान्वयन मापनमा प्रदेशको दोस्रो बन्नु राम्रो कुरा भएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘‘जिल्ला अस्पताल रामेछापले न्यूनतम सेवा कार्यान्वयन मापनमा ८९ अङ्क प्राप्त गरेको छ । यो अङ्क प्रदेशभरका ५० शय्याका अस्पतालले प्राप्त गरेको दोस्रो उत्कृष्ट अङ्क हो । ५० बेडको अस्पताल बनेको छोटो समयमा नै ८९ अङ्क प्राप्त गर्नु भनेको धेरै राम्रो कुरा हो । तर यो अस्पतालले अझै धेरै कुराहरू सुधार गर्न आवश्यक छ ।”

सेवाको विस्तार तथा गुणस्तरीयताका कारण अहिले अस्पतालमा सेवा लिन आउने सेवाग्राहीहरूको सङ्ख्या बढ्दो मात्रामा रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्ष २०८०÷०८१ मा २० हजार ४१४ जनाले सेवा लिएकोमा चालु आर्थिक वर्षको हालसम्म १४ हजार ९४० जनाले अस्पतालबाट सेवा लिएका छन् ।

आफूले अस्पताल सञ्चालनको नेतृत्व गरेपछि अस्पतालको न्यूनतम सेवा मापदण्ड कार्यान्वयन मापनको अङ्क विगतदेखि नै बढ्दो क्रममा रहेकामा ५० शय्याको अस्पताल बनेपछि पनि प्रदेशमा दोस्रो हुनु खुसीको कुरा भएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष यम पाख्रिनले बताउनुभयो ।

रामेछापको प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति, अस्पतालका कर्मचारी लगायतको मिहिनेतका कारण अस्पताल राम्रो बन्दै गएकाले अस्पतालको सेवालाई अझै प्रभावकारी बनाउँदै लानुपर्नेमा जोड दिनुभयो ।

रामेछाप नगरपालिका प्रमुख लव श्री न्यौपानेले रामेछाप अस्पतालले विगत देखि नै न्यूनतम सेवा मापदण्ड कार्यान्वयन मापनमा राम्रो अङ्क प्राप्त गर्दै आएको बताउनुभयो ।

गत वर्ष मात्रै ५० शय्याको अस्पताल बनेको यो अस्पताले यो पटक पनि बागमती प्रदेशमा दोस्रो स्थानको अङ्क प्राप्त प्राप्त गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । नागरिकलाई स्वस्थ राख्नु स्थानीय सरकारको दायित्व भएकाले अस्पतालको सेवालाई अझै गुणस्तरीय बनाउन नगरले सहयोग गर्ने उहाँको भनाइ छ ।
रामेछाप अस्पताल २०२० सालमा रामेछाप हेल्थ सेन्टरका रूपमा स्थापना भएको थियो । २०५० सालमा १५ शय्याको अस्पतालमा स्तरोन्नति भएको यो अस्पताल आर्थिक वर्ष २०७५÷०७६ बाट वाग्मती प्रदेश अन्तरगतको अस्पतालको रूपमा सञ्चालनमा रहेको छ । यो अस्पताल आर्थिक वर्ष २०८०÷०८१ बाट ५० शय्याको अस्पताल सञ्चालनका लागि स्वीकृत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च