रामेछाप । गाउँघरमा नुनदेखि सुनसम्म पाइने पुराना बजारहरू क्रमशः सुनसान बन्दै गएका छन् । ग्रामीण भेग सडक सञ्जालसँग जोडिएपछि बजारहरू सुनसान हुने क्रम सुरु भयो ।
एक दशक अगाडीसम्म बिहान ४ बजेदेखि र राति अबेरसम्म मानिसको भिड हुने रामेछापको उमाकुण्ड गाउँपालिका–२ बाम्तीभण्डार स्थित रत्नज्योती बजारले त्यही नियति व्यहोरेको छ । बजारमा व्यापार हुन छाडेपछि अहिले रत्नज्योती बजारका व्यापारीहरू विस्थापित हुने अवस्थामा पुगेका छन् ।
स्थानीयका अनुसार जिल्ला सदरमुकाम मन्थलीबाट पाँच घण्टाको सडक यात्रामा पुगिने यो बजार २०६१ सालमा बिस्तार भएको थियो । सोलुखुम्बुको सगरमाथा क्षेत्रदेखि ओखलढुङ्गा जिल्ला सम्मका मानिसहरू किनमेल गर्न यो बजारमा आउँथे ।
Advertisement
त्यस बेला यो बजारका व्यवसायीहरूलाई उपभोक्तालाई सामान दिन भ्याई नभ्याई हुन्थ्यो । तर २०७२ सालको भूकम्पसँगै सडक सञ्जाल विस्तार भएपछि बजार सुनसान बन्न थालेको स्थानीय अनिल प्रधानले बताउनुभयो ।
उहाँले भन्नुभयो “आठ वर्ष अगाडिसम्म रत्नज्योती बजारमा मानिसको चहलपहल व्यापक हुन्थ्यो । अहिले त्यति बेलाको समय इतिहास जस्तै बनेको छ । बजारमा व्यवसाय हुन चाडेपछि धेरै व्यवसायहरू विस्थापित भइसकेका छन् । भएका पनि विकल्पको खोजिमा लागिसकेका छन् ।”
आर्थिक वर्ष २०६६÷०६७ सम्म मानिसको राम्रो चहलपहल हुने रत्नज्योती बजार अहिले ठप्प जस्तै रहेको अर्का स्थानीय व्यवसायी हिरणकुमार श्रेष्ठ बताउनुहुन्छ ।
त्यस बेला रामेछापसहित सोलुखुम्बु, ओखलढुङ्गा जिल्लाका दुर्गम गाउँका मानिसहरूको नुनदेखि सुनसम्म किन्ने थलो यही रत्नजोती बजार मात्रै भएको उहाँ सम्झनुहुन्छ ।
Advertisement
बजार ठप्प भएपछि जीवन धान्न मुस्किल भएपछि रत्नजोती बजारका व्यापार स्थानीय व्यवसायीहरू व्यवसाय बन्द गरेर वैदेशिक रोजगारीमा जाने सोचमा पुगिसकेका अर्का व्यवसायी कुमार नेपाली बताउनुहुन्छ । अहिले रत्ज्योति बजार सुनसान मात्रै बनेको छैन, अव्यवस्थित पनि बन्दै गएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो “बजार सुनसान नबनेपछि यो बजारलाई स्थानीय सरकारले पनि व्यवस्थित गर्न सकेको छैन । अझ उमाकुण्ड गाउँपालिका र सोलुखुम्बु जिल्ला भएर बग्ने लिखु खोलामा बनेका जलविद्युत आयोजनाका कारण सडक नाजुक बन्दा व्यवसायीलाई ढुवानीमा पनि समस्या छ ।”
प्रतिक्रिया