रामेछाप । रामेछापको मन्थली नगरपालिकाले माझी समुदायको प्रमुख चाड लदी पूजाको दिन सार्वजनिक बिदा दिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले सोमबार एक सार्वजनिक सूचना प्रकाशित गरी माझी समुदायको बसोबास रहेका वडाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराउनुभएको हो ।
Advertisement
नेपाल माझी उत्थान सङ्घ केन्द्रीय समिति, मझे साबा पुनर्गठन समिति रामेछाप र नेपाल माझी उत्थान सङ्घ जिल्ला कार्य समिति रामेछापका पदाधिकारीहरूले माझी समुदायको प्रमुख चार्ड लदी पूजाको दिन सार्वजनिक बिदा दिन माग गर्दै आइतबार नगर प्रमुख लव श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका थिए ।
उक्त मागपछि नगर कार्यपालिकाको ३९ औँ बैठकले २०८१ फागुन २० गते मङ्गलवार लदी पूजाको दिन माझी समुदायको बसोबास रहेको वडा नं. १, २, ६, ७ र ८ मा सार्वजनिक बिदा दिने निर्णय गरेको सार्वजनिक सूचनामा उल्लेख गरिएको छ ।
Advertisement
सूचनामा माझी समुदायको प्रमुख चाड लदी पूजाको दिन मन्थली नगरपालिकाको नगर सभाको यस अघिको निर्णय र बागमती प्रदेश सरकारले समेत माझी समुदायलाई उपलब्ध गराएको सार्वजनिक बिदाको अतिरिक्त उक्त दिन सार्वजनिक बिदा दिन नेपाल माझी उत्थान सङ्घ केन्द्रीय समिति, मझे साबा पुनर्गठन समिति रामेछाप र नेपाल माझी उत्थान सङ्घ जिल्ला कार्य समिति रामेछापका पदाधिकारी समेतबाट मिति २०८१ फागुन १८ गते नगर प्रमुख ज्यूसमक्ष ज्ञापन पत्र पेस भएको उल्लेख छ ।
सो सम्बन्धमा मन्थली नगरपालिका नगर कार्यपालिकाको ३९ औँ बैठकबाट माझी समुदायको बसोबास रहेको र माझी समुदायका बालबालिकाहरू अध्ययन गर्ने वडा नं. १, २, ६, ७ र ८ का विद्यालयमा समेत मिति २०८१ फागुन २० गते मङ्गलवारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ ।
प्रतिक्रिया