रामेछाप । रामेछापका माझी समुदायले आफ्नो विशेष पर्व लदी पूजा (कोशी पूजा) मनाएका छन् । जिल्लाको विभिन्न स्थानमा बसोबास गरिरहेका माझी समुदायले तामाकोशी र सुनकोशी किनारमा पूजा गरी लदी अर्थात् कोशी पूजा मनाएका हुन् ।
माझी समुदायले प्रत्येक वर्षको फागुन महिनाको साइँली मङ्गलवार लदी पूजा गर्ने परम्परा छ । सोही परम्परा अनुसार रामेछापका माझी समुदायले लदी पूजाको पहिलो दिन मङ्गलवार कोशी किनारमा पूजा गरेका हुन् ।
Advertisement
मन्थली नगरपालिका–८ गाइखुराका माझी समुदायहरूले तामाकोशीको किनारमा छिनाली (मसान), मङ्गलादेवी र जलदेवीका नाममा पाठी, कुखुरा लगायतका वली चढाएर पूजा मनाएका छन् ।
करिब ६० घरधुरीको सङ्ख्यामा रहेका गाइखुराका माझी समुदायहरूले परम्परागत रूपमा चलिआएको यस पर्वलाई निकै महत्वका साथ मनाइरहेका छन् । लदी पूजा गर्नाले माझी समुदायको मुख्य पेसाको रूपमा परिचित पुख्र्यौली पेसा नदीमा डुङ्गा (नाउ) चलाउँदा र माछा मार्दा कुनै पनि जोखिम आउँदैन भन्ने उनीहरूको विश्वास छ । साथै, नदीमा पौडी खेल्दा बगाउँदैन भन्ने मान्यता समेत रहेको छ ।
Advertisement
बर्सातको समयमा नदीले विभिन्न ठाउँमा मानवीय, भौतिक र आर्थिक क्षति पु¥याइरहेको छ । त्यस्ता किसिमका कुनै पनि मानवीय, भौतिक र आर्थिक क्षति नपु¥यावस् भनेर नदीको पूजा गरिँदै आएको गाइखुराका माझी समुदायका पुजारी सेते माझीले बताउनुभयो ।
माझी भाषामा ‘छिनाली’ को अर्थ मसान र ‘लदी’ को अर्थ कोशी हुन्छ । लदी पूजामा मौलिक पोसाक सजिएर आएका माझी समुदायले मुन (जाँड) खाएर नाचगान समेत गर्ने प्रचलन रहेको मन्थली नगरपालिका–८ गाइखुराका ज्ञानबहादुर माझीले बताउनुभयो ।
Advertisement
उहाँले भन्नुभयो “बर्सातको समयमा कोशीले विभिन्न ठाउँमा मानवीय, भौतिक र आर्थिक क्षति पु¥याइरहेको हुन्छ । कोशीले यस्ता क्षति नगरोस् भनेर लदी पूजा अर्थात् कोशी पूजा गर्ने प्रचलन छ । लदी पूजामा मौलिक पोसाक लगाएर रमाइलो गरिन्छ ।” कोशीसँग माझीको मामा भान्जाको सम्बन्ध हुने परम्परा अनुसार पूजा गर्ने गरिएको उहाँले बताउनुभयो ।
माझी समुदायको लदी पूजा भोली (बुधवार) बाधा फुकाएसँगै विधिवत् रूपमा अन्त्य हुन्छ । विशेष गरी रामेछाप जिल्ला भएर बग्ने तामाकोशी र सुनकोशी नजिकै माझी समुदायको बसोबास छ । खाँडादेवी गाउँपालिका–१ लुभुघाट, कोथबे, वडा नं ३ सित्खा, डफ्खा, वडा नं ४ को पुछिघट, रजगाउँमा माझी समुदायको बसोबास रहेको छ ।
मन्थली नगरपालिका–७ भटौली, मुगिटार र वडारे, वडा नं ८ को जखनीटार, गाईखुरा, वडा नं २ को करमबोट, वडा नं १ मन्थली, वडा नं ६ नपुघाट, मसानटार, हात्तिटार र कुनौरी र सेलेघाटमा माझी सामुदायको बसोबास छ । रामेछाप नगरपालिका–९ को राताटार, हर्देनी लगायतका ठाउँमा पनि माझी समुदायको बसोबास रहेको छ । यसबाहेक जिल्लाको लिखुतामकोशी गाउँपालिका, सुनापति गाउँपालिकामा पनि माझी समुदायको बसोबास छ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार रामेछापमा माझीको जनसङ्ख्या ६ हजार २८८ रहेको छ ।
प्रतिक्रिया