रामेछाप । रामेछाप उद्योग वाणिज्य संघले आफ्नो ३२ औँ स्थापना दिवस मनाएको छ । संघले बुधबार सदरमुकाम मन्थलीमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी ३२ औँ स्थापना दिवस मनाएको हो ।
कार्यक्रम संघका अध्यक्ष नवीन थापा मगरको अध्यक्षता तथा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै श्रेष्ठले निजी क्षेत्रलाई स्थानीय सरकारसँग साझेदारीमा काम गर्न आह्वान गर्नुभयो ।
Advertisement
उहाँले मन्थलीमा कम्तीमा निजी क्षेत्र र नगरपालिकाको सहकार्यमा २०÷३० जनालाई रोजगारी दिने उद्योग सञ्चालनको प्रस्ताव ल्याउन आग्रह गर्नुभयो।
श्रेष्ठले स्थानीय उत्पादनको लेवलिङ र बजारीकरणको लागि सहकार्य गर्न पनि उद्योग वाणिज्य संघलाई आग्रह गर्नुभयो। एकले अर्काको बारेमा गुनासो गर्ने भन्दा पनि सहयोग र सहकार्य गरेर अघि बढ्न उहाँले उद्योगी व्यवसायीले आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले व्यवसायीलाई बढी नाफाखोर नहुन सुझाव दिनुभयो । उनले व्यवसायीको हितका कुरा गर्दा उपभोक्ताको हितमा पनि ध्यान दिन आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेस रामेछापका कार्यवाहक सभापति लेखकबहादुर कार्की, एमाले रामेछापको उपाध्यक्ष होतराज ढकाल लगायतका राजनीतिक दलका नेताहरू तथा नागरिक संगठनका प्रमुख एवं प्रतिनिधिले पनि संघको प्रगतिको शुभकामना दिनुभयो ।
प्रतिक्रिया