रामेछाप । नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले अहिले नेपालमा दैनिक ६ लाख लिटर दूधले बजार नपाएको बताउनुभएको छ । किसानले दुःख उत्पादन गरेको दूधले बजार नपाउँदा किसानमा चिन्ता थपिएको उहाँको भनाइ छ ।
नेपाल डेरी एसोसिएसन बागमती प्रदेश समितिले आइतबार रामेछाप सदरमुकाम मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो “नेपाल पाँच वर्ष अगाडिसम्म दूधमा ८० प्रतिशत मात्रै आत्मनिर्भर बनेको थियो । पाँच वर्ष अगाडीसम्म दैनिक २० प्रतिशत दूध नपुगेको अवस्थामा अहिले दैनिक ६ लाख लिटर दूधले बजार नपाउनु ठुलो समस्या हो । यसले दूध उत्पादक किसानमा चिन्ता थपिएको छ ।”
Advertisement
कोभिड महामारी, लम्पीस्किनका कारण पाउडर दूधको स्टक बढी भएकाले पनि बजारमा दूधको खपत घटेको उहाँले बताउनुभयो । मुख्य गरी कोभिड महामारीपछिको आर्थिक मन्दीले डेरी क्षेत्रमा ठुलो असर परेकाले बजारमा दूध खपत घट्दै गएको उहाँले बताउनुभयो ।
अहिले नेपालमा दैनिक ६२ लाख लिटर दूध उत्पादन हुने गरेकोमा ३१ लाख लिटर दूध बजारमा आउने गरेको उहाँले बताउनुभयो । बजारमा आउने ३१ लाख लिटर दूधमा ३३ प्रतिशत दूध अनौपचारिक र १७ प्रतिशत औपचारिक रूपमा बिक्री हुने गरेको उहाँले बताउनुभयो ।
Advertisement
बागमती प्रदेश सरकार दुग्ध विकास बोर्डका उपाध्यक्ष हरि प्रसाद पौडेलले बजारमा अहिले दूध खपतको अवस्था कहाली लाग्दो रहेको बताउनुभयो । राज्यले दूध उत्पादन गर्ने किसानलाई प्रोत्साहनका लागि अनुदान लगायतका विभिन्न कार्यक्रम सञ्चालन गरे पनि बजार बिस्तारका लागि काम गर्न नसकेको उहाँको भनाइ छ ।
नेपाल पशु चौपायामा लाग्ने खोरेँत रोगमुक्त बन्न नसक्दा यहाँ उत्पादित दूधका परिकारले विदेशमा पाउन नसक्दा पनि दूध खपतमा समस्या भएको उहाँले बताउनुभयो ।
Advertisement
नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टीका प्रसाद घिमिरेले दूधको खपत बढाउन दुग्ध सङ्कलन केन्द्र तथा दुग्ध डेरीहरूलाई प्रविधिमैत्री बनाउन अत्यावश्यक रहेको बताउनुभयो । यही कुरालाई ध्यानमा राखेर नेपाल डेरी एसोसिएसन बागमतीले दोलखा, रामेछाप र सिन्धुली जिल्लाका २५ जना दुग्ध सङ्कलक तथा दुग्ध डेरीका सञ्चालकलाई यही चैत २१–२५ गतेसम्म मिल्क एनालाइजर सञ्चालन तथा मर्मत तालिम प्रदान गरिएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया