रामेछाप । आगामी चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदै छ । रामेछाप सदरमुकाम मन्थलीमा सञ्चालित मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा पनि स्ववियु निर्वाचन हुँदै छ । यो क्याम्पस स्ववियु निर्वाचन हुने रामेछाप जिल्लाकै एक मात्रै क्याम्पस हो ।
यो क्याम्पसमा हुने स्ववियु निर्वाचनका लागि विद्यार्थी संघ, संगठनहरुले मङ्गलवार मनोनयन दर्ता गराएका छन् । नेपाली काँग्रेस निकट नेविसंघ र नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) बिच गठबन्धन बन्ने हल्ला चले पनि सबै विद्यार्थी संघ संगठनहरुले एक्ला एक्लै उम्मेदवारी दिएका छन् ।
नेपाली काँग्रेस निकट नेविसंघ, नेकपा एमाले निकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले निर्वाचनका लागि छुट्टा छुट्टै मनोनयन दर्ता गराएको स्ववियु निर्वाचनका लागि क्याम्पसमा गठित निर्वाचन समिति प्रमुख नारद थापाले बताउनुभयो ।
Advertisement
नेविसंघबाट अध्यक्षमा विपुल रोका, सचिवमा युवराज बुढाथोकी, कोषाध्यक्षमा छाया तामाङ र सदस्यहरूमा कर्ण श्रेष्ठ, अमृता माझी, रोमन श्रेष्ठ, अवीजन श्रेष्ठ र कालिका महतले मनोनयन दर्ता गराएका छन् ।
अनेरास्ववियुबाट अध्यक्षमा सुशील थापा, सचिवमा मुकेश भण्डारी(डेनिस), कोषाध्यक्षमा मसली तामाङ र सदस्यहरूमा यलिना माझी, स्वस्तिका सुवेदी, तुलसा उप्रेती, जीवन पहरी र मनोज श्रेष्ठले मनोनयन दर्ता गराएका छन् । मुकेश भण्डारी र सुशील थापा दुवैले अध्यक्षको दाबी गर्नुभएको थियो ।
Advertisement
मनोनयनको अन्तिम समयसम्म भण्डारी र थापा दुवै जना आफ्नो दाबीबाट पछि नहटेपछि जिल्ला पार्टीले सुशील थापालाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।
यस्तै अखिल (क्रान्तिकारी)बाट अध्यक्षमा अनोज भुजेल, सचिवमा विनीता माझी, कोषाध्यक्षमा राज श्रेष्ठले मनोनयन दर्ता गराउनुभएको छ ।
निर्वाचनबाट कूल १५ सदस्यीय स्ववियुको क्याम्पस समिति बन्नेछ । जसमा अध्यक्ष, सचिव र कोषाध्यक्ष सहित ८ पदका लागि निर्वाचन हुनेछ । उपाध्यक्ष र सह–सचिव सहित ७ पद बन्द सूचिमा जाने व्यवस्था रहेको छ । मन्थली क्यम्पसमा ५३१ जना मतदाता रहेका छन् ।
Advertisement
प्रतिक्रिया