हेटौंडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश सरकार अधिकारमा लङ्गडो रहेको उल्लेख गर्दै पत्रकारहरू प्रदेशको जटिल अवस्था र वास्तविकताबारे पूर्ण जानकार रहेको बताएका छन्।
मंगलवार हेटौंडामा सम्पन्न नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको दोस्रो प्रादेशिक भेलालाई सम्बोधन गर्दै मन्त्री लामिछानेले प्रदेश सरकारले बनाएका थुप्रै कानुनहरू संघीय सरकारको अवरोधका कारण कार्यान्वयनमा जान नसकेको गुनासो गरे। “प्रहरीसमेत प्रदेश सरकारको अधिकारभित्र छैन,” उनले भने, “यसबारे पत्रकारहरू अवगत हुनु जरुरी छ।”
Advertisement
मन्त्री लामिछानेले प्रदेश सरकारको संरचनागत कठिनाइप्रति औंल्याउँदै अहिलेसम्म कुनै पनि मन्त्रालयको आफ्नै भवन नभएको उल्लेख गरे। “हाम्रा मन्त्रालयहरू अरुको भवन भाडामा छन्,” उनले भने, “संघीय सरकारसँग अधिकार नहुनु प्रदेश सरकारको सबभन्दा ठूलो चुनौती हो।”
उनले अघिल्लो सरकारको खर्च तथा लगानीको मूल्यांकन गर्दै प्रदेश सरकारको लगानी सही ठाउँमा नपुगेको बताए। “चिस्यान केन्द्र, कभर्ड हल, भ्यु टावरजस्ता योजनामा लगानी गरियो, तर ती सबै आज अलपत्र अवस्थामा छन्,” मन्त्री लामिछानेले भने।
Advertisement
गत असोजको बाढी पहिरोबाट बागमती प्रदेश सबैभन्दा बढी प्रभावित भएको जानकारी दिँदै उनले प्राकृतिक विपद्सँग जुध्न सरकार अझै मजबुत बन्नुपर्नेमा जोड दिए।
कार्यक्रममा उनले सञ्चार क्षेत्रप्रति सरकार सदैव सकारात्मक रहेको उल्लेख गर्दै पत्रकारहरूको हकहित र विकासमा प्रदेश सरकारले सकेको सहयोग गर्दै आएको स्पष्ट पारे ।



























प्रतिक्रिया