लदी पूजा : खाँडादेवीमा माझी समुदायका कर्मचारी, शिक्षक, विद्यार्थीलाई बिदा, मन्थलीमा संस्थागत विद्यालय बिदा

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाले माझी जातिको प्रमुख पर्व कोसी पूजा अर्थात् लदी पूजामा स्थानीय बिदा दिएको छ । स्थानीय संस्कृति र पहिचानको सम्मान गर्दै गाउँपालिकाले फागुन १५ गते मङ्गलवार लदी पूजाको दिन माझी समुदायको कर्मचारी, शिक्षक, विद्यार्थी र विभिन्न सङ्घ संस्थामा कार्यरत सबैलाई स्थानीय बिदा दिएको गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘कोसी पूजा अर्थात् लदी पूजा माझी समुदायको प्रमुख पर्व हो । त्यसैले स्थानीय संस्कृति र पहिचानको सम्मान गर्दै यो दिन माझी समुदायका कर्मचारी, शिक्षक, विद्यार्थी र विभिन्न सङ्घ संस्थामा कार्यरतलाई स्थानीय बिदा दिइएको छ ।’’
मन्थली नगरपालिको संस्थागत विद्यालय बिदा
मन्थली नगरपालिकाभित्र सञ्चालित संस्थागत विद्यालयले मङ्गलवार बिदा दिएका छन् । यो दिन माझी जातिको विशेष पर्व कोसी अर्थात् लदी पूजा परेकाले सार्वजनिक बिदा दिने निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याब्सन रामेछापले निर्णय गरेको हो ।
प्याब्सन रामेछापले स्थानीय संस्कृति र पहिचानको सम्मान गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन रामेछापले यस पर्वको अवसरमा माझी समुदायको बाहुल्यता रहेको मन्थली नगरपालिका वडा नं १ मन्थली र वडा नं ७ भटौलीमा रहेका सबै संस्थागत विद्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको प्याब्सन रामेछापका अध्यक्ष केशव तिमल्सिनाले बताउनुभयो ।
उहाँका अनुसार ’लदी पूजा’का दिन भोलि मङ्गलवार मन्थली नगरपालिका वडा नं १ मन्थलीमा सञ्चालित लिटल स्टार इङ्ग्लिस स्कुल, तामाकोशी अङ्ग्रेजी आवासीय विद्यालय, केब्स स्कुल र मन्थली नगरपालिका–७ मुगीटारमा सञ्चालित नर्मदेश्वर बोर्डिङ स्कुल बिदा हुनेछन् । हाल प्याब्सन रामेछापद्वारा फागुन १३ गते आइतबारबाट सञ्चालन भइरहेको बिएल प्रि टेस्ट भने बिदा दिएको दिन फागुन १५ गते मङ्गलवार पनि सञ्चालन हुने प्याब्सन रामेछापले जनाएको छ ।
देशमा सबैभन्दा बढी माझी समुदायको बसोबास रामेछापमा रहेको छ । रामेछापपछि मकवानपुर र सिन्धुलीमा माझी समुदायको बाक्लो बसोबास रहेको छ । रामेछापको मन्थली नगरपालिका, खाँडादेवी गाउँपालिका र रामेछाप नगरपालिकाको विभिन्न स्थानमा माझी समुदायको बसोबास रहेको छ ।
यसरी मनाइन्छ लदी पूजा
लदी पूजा अर्थात् कोसी पूजा माझी जातिको प्रमुख पर्व हो । यो पर्व माझी जाति प्रत्येक वर्ष फाल्गुण महिनाको तेस्रो मङ्गलवार खोला, नदी अथवा पानीलाई पूजा गरेर मनाउने गर्दछन् । यो पर्वको दिन माझी समुदायका मानिसहरूले नुहाउने, घर लिप–पोत गरी सफा राख्ने गर्दछन् । त्यसपछि आ–आफ्नो घरबाट नजिकको कोसी, खोलामा सबै मानिसहरू भेला भई समूहमा यो पर्व मनाउने गर्दछन् । यो दिनमा कोसीलाई विशेष रूपले पूजा गरिन्छ। पूजामा विशेष विधिबाट तयार गरिएको थानमा कुखुरा, हाँस र परेवा लगायत जीवको बलिको साथ थानमा फुल–अक्षता र भेटी पनि चढाउने गरिन्छ । यो दिन माझी समुदायले आफ्ना आफन्तहरू बिच शुभकामना आदानप्रदान पनि गरी नाचेर, गाएर रमाइलो गर्ने पनि परम्परा छ । पानी र माझीबिच मामा भान्जाको नाता भएकोले माझी समुदायलाई नदीले नवगाओस भनी नदी र देवीको पूजा गर्ने चलन रहेको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च