रामेछाप । बागमती प्रदेश सरकारले रामेछाप सदरमुकाम मन्थलीमा सञ्चालित मन्थली नगर अस्पताललाई प्रदेश स्तरको अस्पताल बनाउने घोषणा गरेको छ । गत शुक्रवारको प्रदेश सभालाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेलले मन्थली अस्पताललाई प्रदेश स्तरको अस्पताल बनाउने घोषणा गर्नुभएको हो ।
यो सँगै रामेछाप जिल्लामा दुई वटा प्रदेश स्तरको अस्पताल भएको छ । बिरामीको अत्यधिक चाप हुने मन्थली नगर अस्पताललाई प्रदेश स्तरको अस्पताल बनाउन रामेछापका प्रदेश सांसदहरूले पटक पटक प्रदेश सभामा आवाज उठाउँदै आउनुभएको थियो । मन्थली नगरपालिकाले पनि मन्थली नगर अस्पताललाई प्रदेश स्तरको अस्पताल बनाउन प्रदेश सरकारसँग लामो समयदेखि माग गर्दै आएको थियो ।
Advertisement
मन्थली नगरपालिकाले मन्थली प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ बेडको मन्थली अस्पतालमा स्तरोन्नति गरी २०७८ माघ २८ गतेबाट सञ्चालन गरिरहेको छ । यो अवधिमा मन्थली अस्पतालले सेवा ग्राहीहरूलाई प्रभावकारी सेवा प्रदान गर्न विभिन्न सेवाहरूको विस्तार गर्दै लगेको छ । मन्थली अस्पतालले सेवा विस्तार गरेसँगै अस्पतालको सेवा लिने सेवाग्राहीको चाप झन् बढ्दो मात्रामा छ । अस्पतालका प्रमुख डा. समीर क्षेत्रीका अनुसार अहिले दैनिक २०० भन्दा बढी सेवाग्राहीले मन्थली अस्पतालबाट सेला लिइरहेका छन् । मन्थली अस्पतालबाट रामेछाप सहित छिमेकी ओखलढुङ्गा, दोलखा, सोलुखुम्बु र सिन्धुली जिल्लाका नागरिकले सेवा लिँदै आएका छन् ।
प्रतिक्रिया