समीक्षा खतिवडा
पनौती, काभ्रे।
समय रातको साढे ११ बजे।
एकोहोरो शंख फुकेको आवाजले ब्युँझिएँ।
पूर्वको, क्षेत्री ब्राह्मणहरूको बाहुल्यता रहेको गाउँमा हुर्किएकी म। मलाई आधा रातमा यस्तो एकोहोरो शंख फुकाइले आश्चर्यचकित तुल्यायो।
Advertisement
अलि सानैमा, दिउँसै सुनेको यस्तो आवाजले राती निदाउन दिँदैन थियो।
मरेका मान्छेहरू भूत बनेर तर्साउन आउँछन्।
यही भ्रमले गाउँमा कोही मान्छे मरेको रात ट्वाइलेट जानको डरले बिहानसम्मै पिसाब च्यापेर सुतेको पनि सम्झना छ।
एकोहोरो शंखको आवाज मेरै कोठाको बाटो अगाडि भएर त्रिवेणी घाटतिर लाग्यो। क्रमश: आवाज सानो हुँदै गयो।
Advertisement
अब ब्युँझिएँपछि ट्वाइलेट जानैपर्यो।
आफ्नै मनलाई सोधेँ, ‘अझै डर लाग्छ?’
Advertisement
एक मनले भन्यो, ‘आफ्नो सबभन्दा नजिकको साथी आफै, आडभरोसा आफैं। आफ्ना कमजोरी आफूलाई जति राम्रोसँग कसैलाई थाहा हुन्न, अनि आफ्नो हिम्मत पनि।’
अर्को मनले ढाडस दियो। ‘डराउनुपर्ने त बरू, ज्युँदा मान्छेहरूसँग हो। त्यो शंख फुक्दै घाट लगेको मान्छे एकैछिनमा खरानी हुन्छ। फेरि मरेका मान्छे साँच्चै तर्साउन आउने भए, चिनेकै मान्छेलाई तर्साउलान् नि। म चिन्दै नचिनेको मान्छेलाई किन तर्साउनु?’
यति सोचेपछि ट्वाइलेट पुगेर आउने हिम्मत जुट्यो।
निक्कैबेर निद्रा लागेन।
आफ्नो गाउँ सम्झिँए एकपटक।
कोही मान्छे साँझमा या राती मरिहाले, बिहानसम्म तुलसीको मोठमा राखेर लास कुरिन्थ्यो। छोराछोरी अलि टाढा छन् भने उनीहरू आउन्जेल पर्खिइन्थ्यो। अनि, उज्यालोमा सबै मलामी जुटेपछि बल्ल घाट लगिन्थ्यो।
गाउँमा बौद्ध धर्म मान्ने शेर्पाहरूको पनि बाहुल्यता थियो। उनीहरूको संस्कार केही अलग थियो। मान्छे बितेको दुई तीन दिनमा साइत जुराएर मात्रै लैजान्थे। लासलाई बेहुलीझैं शृंगारेर धुप बालेर डाँडामा लैजान्थे, गाड्थे।
यी दुई संस्कारभन्दा फरक रहेछ, नेवारी संस्कार।
एक दशकको काठमाडौं बसाइमा पनि थाहा नभएको यो कुरा भोलिपल्ट अफिसमा कुरा गरेपछि बल्ल थाहा भयो।
आधारातमै मान्छे बिते पनि, तुरून्तै आफन्तमा खबर गरेर सकेसम्म छिट्टै घाट पुर्याइहाल्ने।
सबै संस्कारका आआफ्ना तथ्य होलान्, वैज्ञानिक कारण पनि होलान्, आफ्नो ठाउँमा सबै सही होलान्।
जेहोस्, मान्छेको अन्तिम सत्य मृत्यु, अनि मृत्युपछिका आफ्नै संस्कारहरू।
तर, आजकल, मृत्युलगत्तै सञ्जालमा शवकै फोटो हालेर श्रद्धाञ्जली दिने संस्कार विकास भइरहेको भने त्यति उचित लाग्दैन।
एकपटक एकजना साथीको बुवा तराईको कुनै अस्पतालमा बित्नुभयो। साथी काठमाडौंमै थिइन्।
उनलाई बुवा असाध्यै बिरामी हुनुहुन्छ भनेर काठमाडौंबाट तराई बोलाइयो।
काठमाडौंमै बुवाको अकाल मृत्युबारे जानकारी पाएको भए, उनी एक्लै जहाज चढेर बुवालाई राखिएको ठाउँसम्म पुग्न सक्ने स्थितिमा पक्कै हुने थिइनन्।
यसरी कसैको मृत्युको खबरबारे झुट बोलेरै भए पनि मृतकका आफन्तहरूलाई शोक परेको घरसम्म बोलाउने चलन नौलो होइन।
मृत्यु, सबैको भागको अन्तिम सत्य पक्का हो। ढिलोचाँडो सबैले स्वीकार गर्नैपर्छ। तर, हिजोआज कोही प्रेसर, सुगरका बिरामी, कोही मुटुका रोगी। सबै मानिसमा अकस्मात् आफ्ना प्रियजनको मृत्युको खबर स्वीकारिहाल्न सक्ने क्षमता नहुन पनि सक्छ। अझ कहिलेकाहीँ दुर्घटना या भवितव्यले अकालमै कसैले मृत्युवरण गर्न पुगेको छ भने, त्यस्तो मृत्यु झनै पीडादायी हुन्छ। यस्तोमा केही समय दिनु, स्थिति सम्हाल्न सक्ने आफन्त छिमेकीहरू भेला हुनुले पनि अर्को अप्रिय घटना घट्न सक्ने सम्भावना कम हुन्छ।
सामाजिक सञ्जाल हरकोहीको पहुँचमा छ। कार्यालयमा प्रमुखको आँखा छलेर होस् या कलेजमा प्राध्यापकको, बसको सिटमा बसेर होस् या भान्सामा साग केलाउँदा केलाउँदै किन नहोस्, मान्छे सकेसम्म अनि पाएसम्म फेसबुकमा डुलेकै भेटिन्छ।
मानौं तपाईं अफिसको चिया समयमा फेसबुक चलाउँदा चलाउँदै तपाईंकै घरको कुनै सदस्यको मृत्युको खबर फेसबुकबाट थाहा पाउनुपर्यो भने, त्यही ठाउँमा बेहोस हुनसक्ने सम्भावना कति हुन्छ?
अरूको लागि पनि त्यही कुरा लागू हुने होइन र?
यस्तोमा कमसेकम नजिकका आफन्तलाई टेलिफोन या अन्य माध्यमबाट भेला हुने समय दिएर, अवस्था केही सामान्य बनेपछि, स्वीकार्नैपर्ने व्यक्तिहरूले आफ्नो प्रियजनको मृत्युलाई स्वीकारेर मन बुझाएपछि, अरू खबर पाउनुपर्नेहरूका लागि बिस्तारै सामाजिक सञ्जालबाट खबर गरिदिए हुन्न र?
अर्कोतर्फ, शवको फोटो सञ्जालमा राख्नु कति उचित होला? अझ कोही त आफूमा अलिकति पनि मानवना बाँकी नराखेरै घाटैबाट लाइभ आउनसमेत बेर लगाउँदैनन्।
हुन त सञ्चार माध्यमहरूमा भिआइपी व्यक्तिहरूको दाहसंस्कार लाइभ गरिन्छ, तर उनीहरूको आफ्नै आचारसंहिता हुन्छ। हरकोही व्यक्ति मोबाइल बोकेर लाइभ गर्दै गरेको भने अलि अस्वाभाविक लाग्ने रहेछ।
मृत्युपछिका आ-आफ्ना संस्कार छन्, तर सञ्जालमा श्रद्धाञ्जली दिन हतार नगर्ने अनि जथाभावी शवको फोटो भिडिओ राख्नुअघि मानवताको ख्याल गर्ने एउटा साझा संस्कार भने बसाउन जरूरी देखिन्छ।
अँ साँच्चै, तपाईंको ठाउँको मृत्युसंस्कार मैले देखेजानेका यी संस्कारभन्दा अलग पो छन् कि? त्यसो हो भने, त्यसबारेमा तलको कमेन्ट बक्समा पक्कै जानकारी दिनुस् है त।
प्रतिक्रिया