रामेछाप । रामेछापका सरोकारवालाले कानुनको व्यवहारिक कार्यान्वयन नहुँदा समाजमा अझै जातीय भेदभाव तथा छुवाछुत कायमै रहेको बताएका छन् । १९ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका अवसरमा राष्ट्रिय दलित पत्रकार सङ्घ नेपाल रामेछापले सदरमुकाम मन्थलीमा सोमबार आयोजना गरेको साझा सवाल र जबाफदेहिता सहितको अन्तरक्रिया तथा छलफल कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन् ।
मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले जातीय भेदभाव तथा छुवाछुत विरुद्धमा नेपाल कानुनी रूपमा मजबुत भए पनि त्यसको कार्यान्वयनमा फितलो हुँदा अझै समाजमा जातीय भेदभाव तथा छुवाछुतका घटनाहरू हुने गरेको बताउनुभयो । जातीय भेदभाव तथा छुवाछुतका विरुद्धमा मन्थली नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालनका लागि वार्षिक रूपमा बजेटको व्यवस्था गर्दै आएको उहाँले बताउनुभयो ।
रामेछाप नगरपालिका प्रमुख लव श्री न्यौपानेले समाज परिवर्तनका लागि आफू परिवर्तन हुनुपर्ने बताउनुभयो । उहाँले हाम्रो समाजका दलित समुदायभित्र पनि भेदभाव र छुवाछुत कायम रहेकाले यसले पनि एक खालको समस्या बनाएको बताउनुभयो । समाजमा अझै जातीय भेदभाव तथा छुवाछुत रहेकाले रामेछाप नगरपालिकाले यसका विरुद्धमा दलित समुदायको माग अनुसारका कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउनुभयो ।
खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष रमा घिसिङले खाँडादेवी गाउँपालिकाले दलित समुदायको आर्थिक विकासका लागि सीपमूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउनुभयो । गाउँपालिकाले चालु आर्थिक वर्षमा पनि दलित सचेतनामूलक कार्यक्रमका लागि बजेटको व्यवस्था गरेको र वडाहरूले पनि सहभोज लगायतका कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउनुभयो । नेपाली काँग्रेस रामेछापका नेता कुमार श्रेष्ठ, नेकपा एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरिया र नेकपा माओवादी केन्द्र रामेछापका नेता उद्धव रम्तेलले पार्टीमा दलित समुदायको प्रतिनिधित्वको अवस्थाका बारेमा जानकारी गराउँदै समाजमा हुने जातीय भेदभाव तथा छुवाछुत उन्मुलनका लागि पार्टी प्रतिबद्ध भएर लाग्ने बताउनुभयो ।
रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जबसम्म समाजमा हामी सबै मानव बराबर हौँ भन्ने भावनाको विकास हुँदैन तबसम्म जातीय भेदभाव तथा छुवाछुत उन्मूलन गर्न समस्या हुने बताउनुभयो । जातीय भेदभाव तथा छुवाछुतलाई अन्त्य गर्नका लागि आफू र जिल्ला प्रशासन कार्यालय प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । समाजमा जातीय, लैङ्गिक लगायतका विभेदले विकासका कामहरूमा असर पर्नुका साथै हिंसा अनि असुरक्षाका समस्या बढ्ने बताउनुभयो । समाजमा अझै जातीय, लैङ्गिक लगायतका विभेदहरू भइरहेका भए पनि विभिन्न कारणले बाहिर आउन नसकेको उहाँले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदीप कुमार सिंहले विगत दुई वर्षको अवधिमा जिल्ला प्रहरीमा कुनै पनि जातीय भेदभाव तथा छुवाछुतका घटनाहरू दर्ता नभएको बताउनुभयो । तथ्याङ्कमा हेर्दा रामेछापमा जातीय भेदभाव तथा छुवाछुतका घटनाहरू नभएको जस्तो देखिए पनि वास्तविक रूपमा जिल्लामा यस्ता घटनाहरू भइरहेको भन्ने सुन्नमा आएकाले अझै पनि समाजमा जातीय भेदभाव तथा छुवाछुतका घटना भइरहेको बताउनुभयो । यस्ता घटनाका पीडितलाई न्याय र पीडकलाई कारबाहीको दायरामा ल्याउन सरोकारवाला निकायसँग हातेमालो गरेर काम गर्न नेपाल प्रहरी प्रतिबद्ध रहेको उहाँको भनाइ छ । कार्यक्रमका अन्य सहभागीहरूले जातीय भेदभाव तथा छुवाछुतका घटना बाहिर नआएको भए पनि समाजमा अझै व्याप्त रूपमा भइरहेको बताए । उनीहरूले दलित भएकै कारण विभेद भयो भनेर आवश्यक प्रमाण लिएर कानुन अनुसार न्याय माग्दा प्रहरीमा जाँदा समेत प्रहरीले जातीय भेदभाव तथा छुवाछुतका घटनामा समेत मिलापत्र गर्ने गरेको गुनासो गरे ।
राष्ट्रिय दलित पत्रकार सङ्घ नेपाल रामेछापका अध्यक्ष नवराज विकको अध्यक्षमा भएको कार्यक्रममा अध्यक्ष विकले रामेछापमा विगतका वर्षहरुमा भएका जातीय भेदभाव तथा छुवाछुतका घटना, जिल्लाका प्रमुख रानीतिक दलहरुमा दलित समुदायको अवस्था लगायतका बिषय समेटिएको छलफलपत्र प्रस्तुत गर्नुभएको थियो ।
Advertisement
प्रतिक्रिया