विश्व वातावरण दिवसमा रामेछापका विभिन्न स्थानमा अन्तरक्रिया र वृक्षा रोपन कार्यक्रम

रामेछाप । विश्व वातावरण दिवस रामेछापमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । देशभर जस्तै रामेछापमा पनि विभिन्न सङ्घ संस्था तथा विद्यालयहरूले ‘हाम्रो भूमि, हाम्रो भविष्य’ नाराका साथ बुधबार विश्व वातावरण दिवस मनाएका हुन । जिल्लाका विभिन्न स्थानमा वातावरण संरक्षणका सम्बन्धी सचेतना मूलक कार्यक्रम र वृक्षा रोपन कार्यक्रम भएका छन् ।
दिवसका अवसरमा खाँडादेवी गाउँपालिकामा वृक्षा रोपण तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । समाज सेवा तथा मानवअधिकारमा महिला र बालबालिका (सिविस) र खाँडादेवी गाउँपालिका गाउँ युवा परिषद्को संयुक्त आयोजनामा खाँडादेवी गाउँपालिका–५ को गोगनपानी गुम्बा आसपासमा वृक्षा रोपण गरिएको छ भने पालिकामा वातावरण संरक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
गाउँपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रममा खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले वातावरण प्रदूषणबाट मानव जीवनमा असर पर्दै आएकाले अब सबै एकजुट भएर वातावरण संरक्षणमा लाग्नुपर्ने बताउनुभयो । गाउँपालिकाकी उपाध्यक्ष रमा घिसिङले वातावरण संरक्षणका लागि सबै सचेत हुन आवश्यक रहेको बताउनुभयो । अब सबैले हातेमालो गरेर हाम्रा वरपरका वातावरण संरक्षणमा लाग्ने अठोटका साथ वातावरण संरक्षण गर्ने अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
खाँडादेवी गाउँपालिकाकी पूर्व उपाध्यक्ष मखमली श्रेष्ठले प्रदूषणको विषाक्तता, जलवायु परिवर्तनको अराजकता र जैविक विविधताको विनाशले भूमि खराब बन्दै गएकाले यसका बारेमा सबै सचेत भई वातावरण जोगाउन लाग्नुपर्नेमा जोड दिनुभयो । खाँडादेवी गाउँपालिका–५ पकरबासका वडा अध्यक्ष मनोज पौडेलले अब पनि वातावरण संरक्षण गर्ने कार्यमा नलाग्ने हो भने भोलिका दिनमा धेरै समस्याहरू निम्तन सक्ने भएकाले वातावरण संरक्षणको विषयलाई सबैको साझा महत्त्व मानेर विभिन्न अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो । खाँडादेवी गाउँपालिका गाउँ युवा परिषद्का कार्यकारी उपाध्यक्ष मदन खड्काको अध्यक्षतामा भएको कार्यक्रममा आगामी आर्थिक वर्ष २०८१÷०८२ को गाउँपालिकाको नीति तथा कार्यक्रममा वातावरण संरक्षणका विषयलाई प्राथमिकतामा राख्न गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र वडा अध्यक्षलाई गाउँ युवा परिषद्ले ध्यानाकर्षण पत्र समेत बुझाएको छ ।
हरेक वर्ष जुन ५ तारिखका दिन वातावरण दिवस विश्वव्यापी रूपमा मनाउने गरिन्छ । यस वर्ष भूमि पुनर्स्थापना, मरुभूमि करण र खडेरीविरुद्ध जुध्ने अभियानका साथ दिवस केन्द्रित गरी कार्यक्रम भइरहेका छन् । संयुक्त राष्ट्र सङ्घले सन् १९७२ को जुन १६ मा विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । यो सम्मेलनमा वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनुपर्ने विषय उठेको थियो । त्यसैअनुसार सम्मेलनको दोस्रो वर्ष अर्थात् १९७३ जुन ५ मा विश्वमा पहिलो पटक विश्व वातावरण दिवसलाई अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो । नेपालमा वातावरण संरक्षणका लागि वन तथा वातावरण मन्त्रालय, मातहतका निकाय र विभिन्न सङ्घसंस्थाले पहल गर्दै आएका छन् । तर ती प्रयासबाट अपेक्षा अनुसारको उपलब्धि हुन नसकेको टीकाटिप्पणी हुँदै आएको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च