रामेछापको लुभुमा ७२ दिने मिठाई तथा खाजा नास्ता तालिम सम्पन्न

रामेछाप । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–१ राकाथुमको लुभु बजारमा सिटिइभिटी लेभल एक अन्तरगत ७२ दिने मिठाई तथा खाजा नास्ता तालिम सम्पन्न भएको छ । खाँडादेवी गाउँपालिकासँगको सहकार्यमा सामुदायिक विकास समाज मन्थली रामेछापको प्राविधिक तथा कृषि तालिम मार्फत रोजगारी सिर्जना तथा उद्यमशील प्रवर्द्धन परियोजना मार्फत गत चैत ७ गतेबाट सञ्चालित तालिमको बुधवार समापन गरिएको हो ।
सामुदायिक विकास समाज मन्थलीका कार्यकारी निर्देशक मिलनकुमार घिसिङको अध्यक्षता र खाँडादेवी गाउँपालिका–१ राकाथुमका वडा अध्यक्ष रामकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको हो । खाँडादेवी र सुनापति गाउँपालिकाका गरी २१ जना भन्दा बढी युवाहरू सहभागी तालिमको समापन कार्यक्रममा परियोजना संयोजक कृष्ण श्रेष्ठले बेरोजगार युवाहरूलाई आवश्यक सिप प्रदान गरी रोजगारीका लागि योग्य र स्वरोजगार बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो । परियोजनाका फोकल पर्सन उत्तममनि भण्डारीले अब तालिम लिएका युवाहरूको स्किल टेस्ट गरी सिटिइभिटीले लेभल एकको प्रमाणपत्र प्रदान गर्ने बताउनुभयो ।
उहाँले ७२ दिने तालिमबाट सिकेका सिपलाई व्यवहारमा कार्यान्वयन गरेर रोजगार बन्न र आफै उद्यमी बन्न सहभागीहरूलाई आग्रह गर्नुभयो । खाँडादेवी गाउँपालिकाकी पूर्व उपाध्यक्ष मखमली श्रेष्ठले सिपले बसै मानिसलाई आत्मनिर्भर बनाउने बताउँदै तालिमबाट लिएको ज्ञानलाई जीवनमा प्रयोगमा ल्याउनुपर्ने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि एवं खाँडादेवी गाउँपालिका–१ राकाथुमका वडा अध्यक्ष रामकुमार श्रेष्ठले बेरोजगार युवाहरूमा सिप विकासका कार्यक्रमहरू सञ्चालन गर्न अत्यावश्यक रहेको बताउनुभयो । यस्ता तालिमहरूले युवाहरूलाई रोजगार तथा स्वरोजगार बन्न दक्ष बनाउने भएकाले स्थानीय सरकारले विभिन्न निकायसँग आवश्यक समन्वय गरेर यस्ता सिप विकासका कार्यक्रमहरू सञ्चालनमा जोडन दिने बताउनुभयो । तालिममा सिकेका सिपलाई व्यवहारमा कार्यान्वयन गरी आफ्नो जीवन स्तर उकास्न उहाँले सहभागीहरूलाई आग्रह गर्नुभयो ।
तालिम समापन कार्यक्रमका अध्यक्ष एवं सामुदायिक विकास समाजका कार्यकारी निर्देशक मिलन कुमार घिसिङले आवश्यक सिप र सूचनाको धनी जो कोही व्यक्ति सफल हुने बताउनुभयो । कुनै न कुनै विषयमा सिप भएका र आवश्यक सूचना भएका व्यक्ति जीवनमा कहिले असफल नहुने उहाँले बताउनुभयो । परियोजनाले दिएको सिपलाई आफ्नो कर्ममा कार्यान्वयन गरी जीवनमा समृद्धि ल्याउन तालिमका सहभागीहरूलाई उहाँको आग्रह छ । परियोजनाले स्थानीय सरकारको आवश्यक समन्वय र सहयोगमा स्थानीय स्तरमा रहेका बेरोजगार युवाहरूको मागमा आधारित विभिन्न विषयहरूमा यस्ता सिप विकासका तालिमहरू सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।
यस्ता तालिमले युवाहरूमा सिप विकास गरी आफै उद्यमी बन्न, आफ्नै देशमा रोजगारी गर्ने वा वैदेशिक रोजगारीमा जाने युवामा पनि आवश्यक सिप विकास गर्न सहयोग पुगेको उहाँको भनाइ छ । चाइल्ड एड नेटवर्क र जर्मन को–अप्रेसनको आर्थिक सहयोगमा सामुदायिक विकास समाज मन्थली मार्फत सञ्चालित प्राविधिक तथा कृषि तालिम मार्फत रोजगारी सिर्जना तथा उद्यमशील प्रवर्द्धन परियोजनाले सम्बन्धित पालिकाहरूको समन्वय तथा सहयोगमा मन्थली नगरपालिका र खाँडादेवी, सुनापति गाउँपालिकामा आत्मनिर्भर स्वास्थ्य र समतामूलक समाजको स्थापनाका लागि विभिन्न सिप विकासका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च