रामेछाप । नेकपा (एमाले) रामेछापले वर्षाको समयमा हुने बाढी पहिरो लगायतका विपद्का समयमा २०० जना भन्दा बढी स्वयंसेवक परिचालित गर्ने भएको छ । नेकपा एमाले रामेछापका नेताहरूको बिहीबार मन्थलीमा बसेको बैठकले विपद्को समयमा समन्वय, सञ्चार, सम्पर्क र परिचालनका लागि प्रत्येक वडामा कम्तीमा ३ जनाका दरले स्वयंसेवक परिचालित गर्ने निर्णय गरेको हो ।
बैठकले स्थानीय तह निर्वाचनमा एमालेबाट विजय प्राप्त गरेका वडा तथा पालिकाहरूमा विपद् पूर्व तयारीको अवस्थाका बारेमा छलफल तथा अनुगमन गरी थप व्यवस्थित र प्रभावकारी बनाउनका लागि सम्बन्धित पालिका तथा वडाहरूलाई अनुरोध गर्ने लगायतका ८ वटा निर्णय गरेको छ । बैठकले विपद्का समयमा परिचालन हुने स्वयंसेवक, सम्पर्क एवं समन्वय कर्ता लगायतलाई पार्टीको लोगो सहितको ब्याग, ज्याकेट क्याप, पन्जा, बुट, टर्च लाइट र परिचयपत्र सहितका सामाग्री प्रदान गर्ने निर्णय गरेको एमाले रामेछापका उपसचिव मिलन कुमार घिसिङले जानकारी दिनुभयो । एमालेबाट निर्वाचित जनप्रतिनिधि भएका वडासम्मका स्थानीय तहमा विपद् उद्धारका अत्यावश्यक उपकरण तयारी अवस्थामा राख्नको लागि पार्टीको तर्फबाट पहल गरी विपद् व्यवस्थापन, उद्धार र राहतका लागि सबै सरोकारवालासँग समन्वय र सहकार्य गर्ने गरिने एमाले रामेछापका सचिव प्रकाश कुमार कार्कीले बताउनुभयो ।
Advertisement
बैठकमा बोल्दै एमाले रामेछापका निवर्तमान अध्यक्ष एवं वाग्मती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठले पूर्व तयारीका सबै योजना बनाएर पार्टी तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो । यसका लागि सरोकारवालासँग समन्वय र सहकार्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले एमाले देशको पहिलो पार्टी भएकोले विपद्को बेलामा पनि एमाले पहिलो पङ्तीमा उभिने बताउनुभयो । यो वर्षाका समयमा हुने विपद् जन्य समयमा रामेछापका ६४ वटै वडामा कम्तीमा ३ जनाका दरले एमालेले स्वयंसेवक परिचालित गर्ने तयारी गरेको बताउनुभयो ।
प्रतिक्रिया